मुस्ताङबाट ६० हजार भेडा च्याङग्रा पोखरा झर्दै

अघिल्लो बर्षभन्दा १२ हजार कम
मुल्य ३५ प्रतिशत बढ्ने अनुमान
गोकुल बानियाँ/पोखरा १० असोज । नेपालीहरूको महान चाड बडा दशैलाई लक्षित गरि मुस्ताङबाट भेडा च्याङग्रा झर्न थालेका छन् । यस बर्ष करिब ६० हजार भेडा च्याङग्रा पोखरा झर्ने अनुमान गरिएको छ । पशु सेवा कार्यलय मुस्ताङका अनुसार ५५ हजार ९ सय २६ च्याङग्रा र ४ हजार ७ सय ५३ ओटा भेडा मुस्ताङमा बिक्रिको लागि तयार भएका छन् । अघिल्लो बर्ष डोल्पा, मुस्ताङ र तिब्बतबाट ७२ हजार भेडा च्याङग्रा पोखरा झरेका थिए ।

changra bhedaयसबर्ष अघिल्लो बर्षको भन्दा १२ हजार कम भेडा च्याङग्रा आयात हुन लागेको हो । पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा. गुरुप्रसाद ठकुरालका अनुसार यस बर्ष तिब्बतबाट भेडा च्याङग्रा आयत हुने छैनन् । भदौ महिनादेखि नै पशुमा खोरेत रोग लागेकाले तिब्बतबाट भेडा च्याङग्रा भित्रन नपाएको हो । कम आयात हुने भएकाले यस बर्ष भेडा च्याङग्राको मुल्य बढ्ने अनुमान गरिएको छ । अहिले मुस्ताङमा नै भेडा च्याङग्राको मुल्य बढेको छ । यस बर्ष प्रति भेडा च्याङग्राको मुल्य ३ देखि ५ हजार बढ्ने अनुमान गरिएको छ ।

मुस्ताङमै गत बर्षको औषत मुल्य भेडा ८ हजार रुपैया र च्याङग्रा १० हजारमा बिक्रि भएकोमा यस बर्ष १२ हजारमा भेडा र १५ हजार सम्ममा च्याङग्रा बिक्रि भएको स्थानियले बताएका छन् । यो मुल्य हेर्दा अघिल्लो बर्षको तुलनामा ३५ प्रतिशत मुल्य बढ्ने अनुमान गरिएको छ । मुस्ताङबाट पोखरा सम्म ल्याउदा एउटै भेडा च्याङग्राको मुल्य १५ देखि २० हजार सम्म पुग्ने अनुमान छ ।

मुस्ताङबाट भेडा च्याङ्ग्रा लिएर आएका ब्यापारीहरुसंग बिभिन्न ब्यक्ति वा समुहले रकम असुल्ने भएकाले पनि पोखरा सम्म आईपुग्दा दोब्बर मुल्यमा बिक्रि हुने गरेको छ । मुस्ताङबाट म्याग्दी , बाग्लुङ, पर्बत हुदै कास्की सम्म भेडा च्याङग्रा आईपुग्छन् । कास्की, पर्वत, बाग्लुङ, स्यायाङजा, तनहुँ लगायतका जिल्लाका विभिन्न ठाउँमा दशैंमा मात्रै एक लाख सम्म च्याङ्ग्रा खपत हुने गरेको अनुमान छ । हिमाली भेगमा बहुमुल्य जडिबुटी खाएर हुर्किएका भेडा च्याङग्राको मासु स्वास्थ्यको लागि पनि निकै राम्रो हुने भएकालेपनि यसको खपत बढेको हो ।

कमेन्टहरु
Loading...