विश्व पर्यटन दिवसमा मिनि सडक महोत्सव

सागर राज तिमिल्सिना
पोखरा, ८ असोज/विश्व पर्यटन दिवसको अवसर पारेर रेवान पोखराले लेकसाइडमा एक दिने मिनि सडक महोत्सव गर्ने भएको छ । असोज ११ गते शुक्रबार हुने मिनि सडक महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकार, राष्ट्रिय कलाकारहरुको प्रस्तुती, गन्दर्भहरुको सारंगी गायन, हिमाली साँस्कृतीक परिवारको साँस्कृतीक कार्यक्रम, वृत्तचित्रको प्रर्दशनी लगाएका कार्यक्रम सन्चालन हुने रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले बताए ।

उनले राष्ट्रिय कलाकारहरुमा सुगम पोखरेल, नरेन लिम्बु, इन्दिरा जोशी, माउन्टेन ८८४८, यामा वुद्ध, जितु नेपालको प्रस्तुती रहने छ । दिऊसो ४ बजेबाट हुने मिनि सडक महोत्सवमा राती १२ बजे सम्म सन्चालन हुने उनले जानकारी दिए । महोत्सव सम्पन्न गर्न करिब दुई लाख खर्च हुने उनको अनुमान छ । आन्तरीक एवं बाह्यि पर्यटकलाई आक्रषण गर्न महोत्सवको आयोजना गरिएको उनले बताए । महोत्सवमा करिब ८ हजार दर्शक आउने आयोजकको अनुमान छ ।

पर्यटन दिवसको अवसर पारेर पोखरा पर्यटन परिषद्को आयोजनामा विभिन्न कार्यक्रम गरि पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यस अघि पोखरामा नाटाको आयोजनमा फेवाताल सरसफाई भएको छ । त्यसै गरि पुर्वसन्ध्यामा बुधबार बिहान पोखरामा खानेपानी आपुर्ति भईरहेको मर्दीखोलाको मुख्य मुहान परिसरमा सरसफाई गरिने भएको छ । त्यससँगै बुधबार नै सेती र मर्दिको दोभानबाट याम्दीको जौबारीसम्म ¥याफ्टिङ पनि गरिने आयोजकले जनाएको छ ।

पोखरा पर्यटन परिषद्को संयोजन तथा नेपाल एशोसिएन अफ ¥याफ्टिङ एजेन्टस (नारा) र ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरको आयोजनामा सरसफाई तथा ¥याफ्टिङ कार्यक्रम राखिएको संयोजक बसन्तराज दवाडिले जानकारी दिए । दवाडिका अनुसार सेती र मर्दिको दोभानबाट याम्दीको जौबारीसम्म करिब ५ किलोमिटर क्षेत्रमा ¥याफ्टिङ आयोजना गरिनेछ । त्यसमा पर्यटन व्यवसायी, स्थानीयबासि र संचारकर्मी गरि करिब ४० जना सहभागि हुनेछन् । त्यस्तै मर्दीस्थित खानेपानी मुहान सरसफाईसँगै उक्त स्थानमा जनचेतनामुलक कार्यक्रम पनि संचालन गरिनेछ । पदयात्रा र सरसफाईसँग सम्बन्धि जानकारी दिनेगरि जनचेतनामुलक कार्यक्रम गरिने उनले बताए ।

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ । त्यसै क्रममा यो वर्ष ‘टुरिजम एण्ड वाटर प्रोटेक्टिङ आवर कमन फ्युचर’ (पर्यटन र पानीको बचत, साझा भविष्य) भन्ने नाराका साथ परिषद्ले मर्दी र सेतीमा कार्यक्रम गर्ने पोखरा पर्यटन परिषद्ले जनाएको छ । परिषदले यसै अवसरमा लेकसाईडको कोमागाने पार्कमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला पनि संचालन गरिरहेको छ । परिषद अध्यक्ष भुृजेलले विश्व पर्यटन दिवसलाई प्रभावकारि बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । परिषद्ले सेप्टेम्बर २७ का दिन पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पहिलो पाईला टेक्ने विदेशी पर्यटकलाई स्वागत गर्ने पनि जानकारी दिए ।

कमेन्टहरु
Loading...