निर्वाचनमा साठी जिल्ला सशस्त्र प्रहरी परिचालन महानिरीषक — वन्त

सागर राज तिमिल्निसा
पोखरा, ८ असोज/सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले आसन्न संबिधान सभाको निर्वाचनमा सशस्त्र प्रहरी बल ६० जिल्लामा परिचालित हुने बताएका छन् । महानिरीक्षक वन्तले संवेदनशील तथा अति संवेदनशील स्थानहरुमा शान्ति सुरक्षा कायम राख्न समेत परिचालित हुने बताए । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं.८ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिमको मंगलबार समापन गर्दै वन्तले सशस्त्र प्रहरी बल ६० जिल्लामा परिचालित रहेको बताए । उनले ति सवै क्षेत्रमा निर्वाचनको बेला शसस्त्र सुरक्षा दिने बताए ।

उनले निर्वाचनको बेला प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आ–आफ्नो इलाकामा कटिवद्ध रहन मातहत अधिकृत तथा जवानहरुलाई निर्देशन दिए । उनले अर्धसैनिक प्रकृतीको सशस्त्र प्रहरी बलले कठिन कार्यक्षेत्रमा समेत राज्यले सुम्पिएको जिम्मेवारी पुरा गरेको स्मरण गर्दै राज्यले क्षमता अनुरुपको चुनौतीपूर्ण जिम्मेवारी दिने बताए ।

मानव अधिकारको उलंघन तथा लैंगिक हिंसामा सून्य सहनशीलताको नीति संगठनको रहेको उल्लेख गर्दै घटनामा कुनै पनि सशस्त्र प्रहरी कर्मचारीको संलग्नता हुन पुगेमा व्यक्तिगत रुपमा जिम्मेवार हुनुपर्ने बताए । उनले तालिमले शारीरिक एवं मानसिक रुपमा तन्दुरुस्त बनाउनुको साथै आत्मविश्वास, सृजनशीलता र सामूहिक भावनाको विकास गर्ने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले धन्यवाद ज्ञापन गर्दै कार्यक्षेत्रमा आउने जस्तोसुकै चुनौतीको सामना गर्ने सक्ने व्यावसायीक दक्षतायुक्त जनशक्ति उत्पादनमा संगठनले जोड दिँदै आएको बताए । उनले संगठनको नीति निर्देशन अनुरुपको जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट सम्पन्न गर्न प्रशिक्षार्थीहरुले तालिममा आर्जन गरेको ज्ञानकौशललाई व्यवहारमा कार्यन्वयन गर्नुपर्ने बताए ।

कार्यक्रममा तालिम महाविद्यालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेश श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । गत फागुन २३ गतेबाट संचालित तालिममा कूल ७१ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए । प्रशिक्षार्थीहरु मध्ये सशस्त्र प्रहरी निरीक्षक मोहनबहादुर देवकोटा उत्कृष्ट भए ।

कमेन्टहरु
Loading...