सागर राज तिमिल्सिना
पोखरा, ७ आश्विन /नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारीले आफ्नो राजनैतिक चरित्र हत्या गर्ने षडयन्त्र भैरहेकोे दावी गरेका छन् । पोखराबाट प्रकाशित हुने आदर्श नेपाल दैनिकले सोमबार अधिकारी एमाओवादीमा प्रवेशको तयारीमा भन्दै प्रकाशित गरेको समाचार विषयमा एमाले कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा युवानेता अधिकारीले राजनैतिक चरित्र हत्या गर्ने उद्देश्यले समाचार प्रायोजित रुपमा प्रकााशित गरिएको बताए ।उनले त्यस्तो मनगढन्ते, कपोलकल्पित र भ्रामक समाचारले समग्र पत्रकारिता जगत कै विश्वास र प्रतिष्ठा गिर्छ भन्दै नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिललाई अनुसन्धान र कारवाही गर्न माग गरे । “मेरो पनि छानविन होस, यदी पार्टी छोड्ने र अन्त कतै जाने विषयमा सामान्य छलफल पनि चलाएको पुष्टी हुन्छ भने राजनीतिबाट सन्यास लिन तयार छु ।’ अधिकारीले भने–“यस्तो मनपरी लेखेर जनतालाई भ्रमित पार्ने पत्रकारिता अन्त हुनुपर्छ ।’
अधिकारीले आफु पूर्ण स्वतन्त्रताका पक्षपाती भएको र त्यसैका लागि लामो समय देखि लडदै पनि आएको बताउदै पत्रकारिताको दुरुपयोग गरेर जनविश्वास नघटाउन आग्रह गरे । युवा नेता अधिकारीले नेकपा एमाओवादीको समुहले नियोजित रुपमा चरित्र हत्या गर्न खोजिएको आरोप लगाए । उनलेले चुनावलाई लक्षित गरेर षडयन्त्र गरिएको बताए । “पहिला व्यक्ती हत्या गरेर आतंक मच्चाएका थिए, अहिले चरित्र हत्या गर्ने प्रयास गर्दैछन् ।’ अधिकारीले भने–‘रविन्द्रको छवि धुमिल बनाएर चुनाव जित्न सकिन्छ की भन्ने कलुसित मनाशायले यसो गरिएको हो ।’
‘व्यक्तीले टिकट पाउने नपाउने ठुलो कुरा होईन, पार्टीले आवश्यक ठाने उम्मेद्वार बनाउछ । पार्टीको अन्तिम निर्णय सधै स्वीकार्य हुनेछ । म विगतमा पार्टी सदस्य मात्र रहेर पनि एमालेलाई बलियो पार्टी बनाउन अहोरात्र खटिएको थिए र भविश्यमा पनि अविचलित भै खटिरहनेछु ।’ विज्ञप्तीमा अधिकारीले भनेका छन् । अधिकारीले आगामी तीन दिन भित्र एमालेले प्रत्यक्ष तर्फको उम्मेद्वारी टुङ्गो लाग्ने बताए । उनले आफु टिकटका लागि मरिहत्ते नगरेको बताउदै पार्टीले जसलाई दिन्छ त्यो स्वीकार्य हुन्छ भने ।