कर्मचारीको आन्दोलनले चरक अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प

कार्तिक, २० पोखरा /सेवा सुबिधा बृद्धी लगायतको माग सहित कर्मचारी आन्दोलनमा उत्रेपछि पोखराको चरक अस्पतलाको आकस्मिक बाहेकका सेवा ठप्प भएको छ । मासिक तलब बृद्धी, रात्रीकालिन भक्ता, सन्चयकोषको व्यवस्था लगायतका २३ सुत्रिय माग राखी गण्डकी मेडिकल कलेज एण्ड चरक हस्पिटल एण्ड रिसर्च सेण्टरका कर्मचारीहरु कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका हुन् ।

अस्पताल प्रशासन र श्रम कार्यालयको मध्यस्थतामा केहि दिन अगाडि भएको बार्तामा १० दिन भित्र माग पुरा गर्ने सहमति भएपनि प्रशासनले बेवास्ता गरेकाले आन्दोलनमा उत्रनुपरेको अखिल नेपाल स्वास्थ्य श्रमिक संघ चरक अस्पतलका सचिब उदय बहादुर खत्रीले बताए । कर्मचारीको माग पुरा नभए सम्म काममा नफर्किने सचिब खत्रीले बताए ।

अस्पताल ब्यबस्थापनले भने तीन महिना पहिले नै कर्मचारीको तलब बृद्धि गरेको बताए । कर्मचारीहरुले नाजायज माग राखेर आन्दोलन गरेको बताउदै अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुन्दर कुमार खनालले कर्मचारीको माग पुरा गरिसकेको दाबि गरे ।

तर ब्यबस्थापनले एक तर्फि रुपमा सहमति बिना गरेको तलब बृद्धीको निर्णय मान्य नहुने कर्मचारीहरुले बताएका छन् । कर्मचारीको आन्दोलनले लेखनाथको रहेको मेडिकल कलेज पनि बन्द रहेको छ । आन्दोलन कारीले नयाँ विरामी दर्ता र ओपिडि सेवा बन्द गरेका छन् । दैनिक करिब ३ सय विरामीहरु उपचारको लागि आउने गरेका थिए । बन्दका कारण दैनिक उपचारका लागि आउने विरामीहरु मर्कामा परेका छन् । अस्पतालमा चिकित्सक सहित करिब ५ सय कर्मचारी कार्यरत छन् ।

कमेन्टहरु
Loading...