भद्रकाली लायन्सद्वारा विपन्न विद्यार्थीलाई बाख्रा पैंचो

पोखरा, ७ असोज/विपन्नताकै कारण शिक्षा लिनबाट वञ्चित हुनु नपरोस भन्ने हेतुले लायन्स क्लब अफ पोखरा भद्रकालीले पर्वतको देउपुरस्थित प्रभावकारी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई पैंचो बाख्रा हस्तान्तरण गरेको छ । निम्न आर्थिक अवस्था भएका विद्यार्थीका अभिभावकलाई बाख्रा पैंचो अभियान अन्तर्गत प्रभावकारी प्राथमिक विद्यालय देउपुर ३ गैराथोक पर्वतमा अध्ययनरत पाँच जना विद्यार्थीका अभिभावकलाई क्लबले बाख्रा प्रदान गरेको हो ।lions pix

विद्यालयमै आयोजित कार्यक्रममा कक्षा तीनका साजन नेपाली, कक्षा चारका तेजप्रसाद शर्मा, बालशिक्षाकी श्रृष्टी लामिछाने, कक्षा ५ की धनकुमारी जैसी, सोही कक्षाकै राजु भारतीका अभिभावकलाई बाख्रा हस्तान्तरण गरिएको छ । प्रति बाख्रा ३५ सय रुपैयाँ परेको क्लबका अध्यक्ष दीपकराज तिवारीले बताए । बाख्राबाट जन्मेको पहिलो पाठी क्लबलाई नै फिर्ता दिनुपर्ने र सो पाठी स्थानीय विपन्न विद्यार्थीकै अभिभावकलाई प्रदान गरिने जानकारी उनले दिए । क्लबले यस अघि पनि कास्कीको बिरेठाँटीमा पाँचवटा बाख्रा वितरण गरिसकेको छ ।

क्लबका अध्यक्ष दीपकराज तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लब र यसको सहयोगी कार्यक्रमका बारेमा क्लबका सल्लाहकार किशोरदत्त बराल, कार्यक्रमका बारेमा रामप्रसाद शर्मा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद शर्मा, प्रधानअध्यापक झलक शर्मा, शिरोमणि लामिछानेलगायतले बोलेका थिए । सो अवसरमा क्लबका निर्देशक राजु क्षेत्रीलगायत गोकुलप्रसाद शर्मा, पदमपाणि शर्मा, र भाष्कर पौडेलको उपस्थितिमा थियो ।

कमेन्टहरु
Loading...