पोखरा, ६ असोज/ग्राण्ड फिनाले नजिकिँदै गर्दा यतिबेला मिस पोखरा २०१३ का प्रतिस्पर्धीहरु प्रशिक्षणमा व्यस्त छन् । १३ वर्षपछि पोखरा जेसिजले आयोजना गरेको यो पटकको मिस पोखराका लागि टाईटल जित्का लागि २८ जना युवतीहरु निकै कसरत गरिरहेका छन् । मिस पोखरा २०१३ को ग्राण्ड फिनाले असोज १८ गते शनिबार पोखरा सभागृह हलमा हुँदैछ ।
प्रतिस्पर्धीहरुलाई जयन सुब्बा मानन्धरले कोरियोग्राफि सिकाईरहेकी छन् । उनले प्रत्येक दिन प्रतिस्पर्धीहरुलाई कोरियोग्राफिका विभिन्न पक्षहरु बारे प्रशिक्षण दिएको पोखरा जेसिजले जानकारी दिएको छ । यो पटकको मिस पोखरालाई कोल्गेट म्याक्स फ्रेसले मुख्य प्रायोजन गरेको छ । आईतबारसम्म प्रशिक्षणको पाँच दिन वितिसकेको मिस पोखराका संयोजक सन्तोष पोखरेलले जानकारी दिए ।
पाँच दिनसम्म प्रतिस्पर्धीहरुलाई छुट्टाछुट्टै विषयमा प्रशिक्षण दिएको जेसिजले जनाएको छ । प्रशिक्षण अन्तरगत असोज २ गते मिस पोखराको आवश्यकताको विषयमा पोखरा जेसिजका पुर्वअध्यक्ष निरञ्जन श्रेष्ठले प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिएका थिए । त्यस्तै सोहि दिन पोखरा जेसिजका वर्तमान अध्यक्ष विष्णुबहादुर थापाले जेसिजको ईतिहासको बारेमा प्रशिक्षण दिएका थिए ।
असोज ३ गते जेसिजका पुर्व अध्यक्ष नारायण शर्माले व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिएका थिए । असोज ४ गते पोखरा जेसिजका महासचिव दिपेन्द्र पहारीले स्ट्रेस म्यानेजमेन्ट सम्बन्धि प्रशिक्षण दिए भने संयोजक सन्तोष पोखरेलले सफलताका टिप्स्हरु दिएका थिए । पोखरा जेसिजका पुर्व अध्यक्ष सृजन ज्ञवाली र छवि सुवेदीले पनि प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिएका थिए ।
पोखरा जेसिजले १९९५ देखि १९९९ सम्म ‘मिस पोखरा’लाई निरन्तरता दिएको थियो । यो बिचमा मिस पोखराको टाईटल विजेताहरुले मिस नेपालसम्मको यात्रा तय गरेका थिए । त्यसपश्चात १३ वर्षसम्म मिस पोखराको आयोजना हुन सकेको थिएन । मिस पोखरामा १८ वर्षदेखि २४ वर्षसम्मको अविवाहित युवतीले सहभागिता जनाईरहेका छन् । मिस पोखराको टाईटल विजेताले मिस नेपालको आगामी सँस्करणमा सोझै सहभागिताको लागि मौका पाउनेछिन् ।