गणेश रसिक सित एक प्रहरमा पोखरेली मन्त्रमुग्ध

पोखरा, ५ असोज/नेपाली लोक संस्कृतिको संरक्षण–सम्वद्र्धन गर्दै नेपालीका हृदयमा राष्ट्रियता, स्वाभिमान र गौरवको भावना जगाउने उद्देश्य लिई स्थापना गरिएको हिमाली साँस्कृतिक परिवारद्धारा शनिवार पोखरा उद्योग वाणिज्य संघको हलमा सम्पन्न ‘गणेश रसिक सित एक प्रहर २०७० मा वरिष्ठ गायक, संगीत तथा गीतकार गणेश रसिकले पोखरेलीलाई मन्त्रमुग्ध बनाउनुभयो ।

नेपाली राष्ट्रियता र मौलिक सँस्कृतिको जगर्ना गर्दै लोप हुन लागेका साँस्कृतिक धरोहरहरुलाई प्रतिभा प्रस्तुतिको अवसर प्रदान गर्न आयोजित वरिष्ठ गायक, संगीत तथा गीतकार रसिकको एकल गायन कार्यक्रममा पोखरेली दर्शक श्रोताहरु रसिकका पुराना गीतहरुमा मन्त्रमुग्ध हुनुका साथै केही चर्चित गीतमा झुमी झुमी नाचे । रसिकको १८ गीत मध्ये कार्यक्रमको अन्त्यतिर गाउनुभएको घर बेटी नानी आँगनीमा, कुखुरी काँ रातो भाले क्वाएँ क्वाएँ, धान राख्ने धनसार, गीतमा दर्शकहरु कम्मर मर्काइ मर्काइ नाचेका हुन ।gadis rasik

१८ गीतका लागि करिब ३ घण्टा समय खर्चनुभएका रसिकले देश भक्तीभाव रहेको सुन नेपाली हो गीतबाट शुरु गर्नुभई लडी नहार्ने नेपाली, घर छोडी परदेशी लाग्दा, ओ याङ्जी नाना, मर्न मन लाग्छ मलाई, उकालीमा एक्लै हिँड्दा, धेरै सम्झे धेरै हुन्छ, मेरो अतितलाई कहाँ भेटेँ, मसँग तारा छ मायाको, आज भेडा बाख्रा कता लाने, मनमा बसेकी मायालु, बाँच्न जन्मेको नेपाली, हेर्दैछु तिमीलाई पश्चिमको घाम भएर, सम्झाउने माया विझाउने माया, लाखौं जुनी कम हुन्छ, घर बेटी नानी आँगनीमा, कुखुरी काँ रातो भाले क्वाएँ क्वाएँ, धान राख्ने धनसार गीत गाउनुभएको थियो ।

कार्यक्रममा रसिकलाई हिमाली साँस्कृतिक परिवारका कलाकारहरु टोपबहादुर खत्री(तेज केसी), कर्णबहादुर गुरुङ, धनबहादुर गायक, सनबहादुर गुरुङ, मोहन गुरुङ, राजा मुखिया, विजय क्षेत्री, राजेश क्षेत्री, महिपाल लामा, मनोज बाँस्तोला, सुजन बस्नेतले बाद्यबादनमा एवं गायनतर्फ रुबी गौली र आँचल लामाले साथ दिनुभएको थियो ।
देशभक्ति, मायाप्रेम, मौलिक सँस्कृतिसँग सम्बन्धित गीत प्रस्तुति गर्नुभएका कार्यक्रमका नायक रसिकले आफ्नो एकल गायन कार्यक्रम भव्यताका साथ सफल भएको र आउँदो दश वर्षमा पोखरामा पुनः यस्तै कार्यक्रम गर्ने धोको रहेको बताउनुभयो । उहाँले पोखरेली संगीतकारहरुको उच्च सह्राना गर्नुहुदै कार्यक्रमको आयोजक, सहयोगी र दर्शकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

हिमाली साँस्कृतिक परिवारका प्रमुख संरक्षक, वरिष्ट संस्कृतिकर्मी चेतन कार्कीले दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा श्रष्टा गणेश रसिकलाई हिमाली साँस्कृतिक परिवार, किराँत सेवा समाज कास्की, थकाली सेवा समिति पोखरा, एड्स रोग नियन्त्रण संघ, कल्याण शेरचन स्मृति प्रतिष्ठान लगायतले अभिनन्दन पत्र, दोसल्ला, खादा सहित अभिनन्दन गरिएको थियो ।
कार्यक्रमका लागि एक लाख रुपैया प्रदान गर्दै नदिपुरस्थित थकाली सेवा समिति पोखरा मुख्य प्रायोजक, मार्फा थकाली समाज सेवा सदन सहप्रायोजक र पोखराका विभिन्न व्यवसायिक प्रतिष्ठान, सामाजिक संघ संस्थाहरु एवं समाजसेवीहरुले सहयोग गर्नुभएको थियो ।
एक हजार रुपैया र पाँच सय रुपैया टिकट दर रहेको कार्यक्रममा उद्योग वाणिज्य संघको हल दर्शकहरुको भिड नै लागेको थियो ।
कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर थापाले श्रष्टाको परिचय गराउनु भएको थियो भने सञ्चाल सचिव श्रीजंग गुरुङ र ज्ञानबहादुर थापाले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...