पोखरा उत्कृष्ट पर्यटकीय गन्तव्य, पर्यटन प्रवद्र्धनका लागि ब्राण्डिङ्ग महत्वपूर्ण

पोखरा, ५ असोज/नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको दीगो पर्यटन विकासका लागि सम्पूर्ण पोखरेलीहरु एक हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद्, पश्चिमाञ्चल होटल संघ पोखरा, रेवान पोखरा, नाट्टा पोखरा, टेसा पोखरा, न्यू बिजेनश एज तथा आर्थिक अभियान दैनिकले शनिबार पोखरामा आयोजना गरेको ‘पोखरा डिस्टिनेशन प्रमोशन’ कार्यक्रममा बोल्ने वक्ताहरुले पोखरामा पर्यटन व्यवसायका लागि प्रशस्त सम्भावनाहरु भएको बताए । पर्यटीय सम्भावनाहरुको पहिचान गरी ब्राण्डिङ्ग गरिनुपर्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा प्रमुख वक्ता इनक्रेडिबल इण्डियाका पायोनियर अमिताभ कान्तले पोखरा धेरै सुन्दर भएकाले संसारका पर्यटकहरु यहाँ आउन आकर्षित हुने बताए । भारतको पर्यटन प्रवद्र्धनका लागि पछिल्लो समयमा भएका विभिन्न गतिविधिहरुको उदाहरण प्रस्तुत गर्दै कान्तले पोखराको पर्यटनलाई ब्राण्डिङ्ग गरेर संसारभर चिनाउनुपर्ने धारणा राखे । ‘मास टुरिजम’को अवधारणबाट पर्यटन प्रवद्र्धन गरिनुपर्ने उनको भनाइ छ । ‘पर्यटन प्रवद्र्धनका लागि प्रचार–प्रसार सवैभन्दा राम्रो माध्यम हो’ उनले भने । प्राकृतिक स्रोतसाधन तथा सांस्कृतिक गतिविधिहरुको पहिचान गरी पर्यटन विकासका लागि अन्य देशका पर्यटकीय अनुभवहरुलाईसमेत अनुशरण गर्न सकिने उनले बताए ।

पोेखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखेले पोखराको पर्यटन विकासले समग्र पोखराको विकासमा सहयोग पुग्ने बताए । निजी क्षेत्रको एकल प्रयासले पोखराको पर्यटन व्यवसाय यहाँसम्म आइपुगेको उनको भनाइ छ । पोखरामा रहेका धेरै संघसंस्थाले आ–आफ्नो नाराहरुले पोखरालाई चिनाउने प्रयास गरिरहेको बताउँदै उनले अब सवैले एउटै नाराबाट पोखरालाई संसारभर चिनाउनुपर्ने जिकिर गरे । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टीकाराम सापकोटाले पोखराको पर्यटन विकासका लागि ब्राडिङ्गको विकल्प नभएको बताउँदै ब्राण्डिङ्ग समयानुकूल हुर्नेपर्ने भनाइ राखे । पर्यटन व्यवसायी बासु त्रिपाठीले सवै किसिमका पर्यटकका लागि पोखरा अनुकूल भएको बताए ।

कार्यक्रममा बोल्दै न्यू बिजनेश एजका सल्लाहकार उज्ज्वल चौधरीले पोखरा नेपालको पर्यटकीय राजधानी भएकाले यहाँको पर्यटन विकासका लागि सरकारलेसमेत चासो दिनुपर्ने बताए । यहाँका व्यवसायीहरुले आचारसंहिता बनाएर पर्यटन व्यवसाय सञ्चालन गरिनुपर्ने उनको भनाइ छ । ‘अन्य क्षेत्रको भन्दा यहाँको पर्यटन सेवा र सेवा शुल्कमासमेत फरक हुनु आवश्यक छ’ उनले भने । पर्यटनविद श्रीकान्त खतिवडाले दीगो पर्यटन विकासका लागि यहाँका पर्यटकीय स्रोत र साधनहरुको संरक्षणमा जोड दिए । पर्यटन क्षेत्रको ब्राण्डिङ्ग गरिदा सवैको अपनत्व हुनुपर्ने उनको भनाइ छ । माउन्ट अन्नपूर्ण उमाविका प्राचार्य रामजी शर्माले समुदायमा आधारित पर्यटन दीगो हुने विचार राखे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नजिकिदै गरेको विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

कमेन्टहरु
Loading...