रवि र ज्योतिले गरे अन्तरजातीय विवाह

पोखरा, २ असोज /नेपाली समाजमा जातीय विभेद अझै पनि विद्यमान छ । गाउँमा मात्र नभै सहरमा समेत कुनै न कुनै रुपमा जातीय आधारमा भेदभाव तथा छुवाछुत गर्ने कुसंस्कार कायमै रहेको छ । त्यसैकारण प्रेम गर्ने धेरै जोडीहरु विवाह बन्धनमा बाँधिनबाट बञ्चित छन् । समाजमा आइपर्ने चुनौतीको सामना गर्दै यहिका एक जोडी भने अन्तरजातीय विवाहमा बाँधिएका छन् । सराङ्कोट गाविस वडा न. ६ सौरेखोलाकी ज्योति अधिकारी र सोही वडाका रविबहादुर विकबीच बुधबार अन्तरजातीय विवाह भएको हो ।
करिब एक वर्षको प्रेम सम्बन्ध पश्चात उनीहरुले एकीकृत माओवादीको पहलमा जनवादी विवाह गरेका हुन् । विवाह समारोहमा बोल्दै रविले आफुलाई ज्योतिको घरबाट मार्ने सम्मको धम्कि आएको बताए । ‘म सानै छदाँ कहिल्यै म माथि भेदभाव भएको महशुस गरिन’–उनले भने–‘तर आफैलाई परेपछि थाहा भयो समाज जहाँको त्यहिँ रहेछ ।’ रविले आफुहरुको प्रयासबाट मात्रै यो विवाह संभव नभएको बताउँदै एकीकृत माओवादीलाई धन्यवाद दिए ।
विवाह समारोहमा बेहुली ज्योति अधिकारीले जस्तोसुकै चुनौतीहरु आएपनि सामना गर्न तयार रहेको बताइन् ।intercast marriage
परिवारको अवरोधबीच पनि प्रेमलाई सफल बनाउन सकेकोमा उनले खुशी व्यक्त गरिन् । ‘हामीबीच प्रेम सम्बन्ध भएको थाहा पाएपछि घरमा तीन दिन थुनेर शारिरक र मानसिक यातना दिए’–उनले भनिन्–‘कलेज जाने बहानामा घरबाट भाग्न सफल भए ।’ ज्योतिका बुबा श्रीकृष्ण अधिकारी आफै वकिल भएपनि उनीहरुको विवाह स्वीकारेका छ्र्रैनन् । रविकी आमा लक्ष्मी विकले उनीहरुको सम्बन्धलाई लिए खुशी भएको बताइन् । उनले छोराबुहारीको जीवन राम्रोसँग वितोस् भन्ने कामना गरिन् ।
समारोहमा अखिल क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य तेजकुमारी पौडेलले अन्तरजातीय विवाह चुनौतीपूर्ण हुने बताउँदै समस्यासँग जुध्न निरन्तर अघि बढ्नुपर्ने भनाई व्यक्त गरिन् । अन्तरजातीय विवाहले समुदायलाई रुपान्तरण गर्न सहयोग पुग्ने उनको भनाई थियो । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य भिमबहादुर विक ‘क्षितिज’ ले रवि र ज्योतिको साहसप्रति कृतज्ञता व्यक्त गरे । सामाजिक रुपान्तरणमा अन्तरजातीय विवाहको महत्वपूर्ण भुमिका हुने बताउँदै विकले यस्तो विवाहबाट अरुलाई पनि प्रेरणा मिल्ने धारणा व्यक्त गरे । समारोहमा योङ कम्युनिष्ट लीगका जीवन खातीले पनि बोलेका थिए । पोखराको न्यू ग्यालेक्सी उच्च माविमा अध्यापन गर्ने रविले पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर उत्तिर्ण गरेका छन् भने ज्योति हाल प्रतिभा उच्च माविमा १२ कक्षामा अध्ययन गर्छिन ।
 
 

कमेन्टहरु
Loading...