पूर्व सभासद मियाले श्रीमती ठगे किर्ते नागरिकता बनाएर श्रीमतीको जग्गा अर्कैलाई बिक्री

समाधान सम्वाददाता
पोखरा, १६ काक्तिक /एकिकृत नेकपा माओवादीका नेता एवं पूर्व सभासद सफिक मिया (मोहम्मद रफिक मिया)ले आफ्नै श्रीमतीको किर्ते नागरिकता बनाएर जग्गा बेच विखन गरेका छन् । उनको किर्ते काण्डको उजुरी सरकारी निकायमा नपरे पनि एमाओवादीमा यो काण्डले हल्ली खल्ली मच्चिएको छ । विगत लामो समय देखि श्रीमतीसंग खराब सम्बन्ध राखेका मियाले उनको नाममा रहेको जग्गा किर्ते नागरिकता बनाएर बेचविखन गरेको रहस्य खुलेको छ । पूर्व सभासद मियाले कास्की जिल्लामा श्रीमतीको नाममा रहेको जग्गा तनहुँ जिल्लामा गएर बिक्री गरेका छन् ।

पूर्व सभासद मियाकी श्रीमती पनि माओवादी कार्यकर्ता नै हुन । उनी इकाका समिति सदस्य छन् । पूर्व सभासद मियाले श्रीमती माथि अन्याय गरेको उजुरी एमाओवादीको जिम्मेबार निकायमा परेको छ । तर प्रहरीले उनीहरुको उजुरी आफ्नो निकायमा नपरेको बताएको छ । मुस्लिम धर्ममा श्रीमानले जे भन्यो त्यो मान्नु पर्ने परम्पराका कारण पूर्व सभासदले श्रीमतीलाई पीडा दिएको माओवादी नेतृत्व पनि जानकार छ । तर पार्टी नेतृत्वले आन्तरिक विवाद भन्दै घटना सार्बजनिक गर्न मानिरहेको छैन ।

श्रीमतीको किर्ते नागरिकता बनाएर उनको नाममा रहेको जग्गा नामसारी गराएको बारेमा पनि प्रहरी बेखर छ । पूर्व सभासद जस्तो जिम्मेबार भूमिका रहेको मान्छेले गैर कानुनी कार्य गर्दा पनि सरकारी निकाय मौन प्राय बसेको छ । “उहाँका श्रीमान श्रीमती बीच विवाद छ भन्ने बारेमा अनौपचारिक रुपमा जानकारी प्राप्त भएको हो, तर किर्ते नागरिकता बनाएर जग्गा खरिद बिक्री गरेको बारेमा हामीलाई जानकारी छैन ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक शैलेष थापाले समाधानसंग भने–“किर्ते गरेको भए हामी अनुसन्धान गर्नेछौं ।’

पूर्व सभासद मियाकी श्रीमती जावेद खातुन मिया हुन् । उनको नाममा रहेका करिब १० आना जग्गा श्रीमान मियाले श्रीमतीको नक्कली नागरिकता बनाएर दुर्गा देवी अधिकारीको नाममा नामसारी गरेका छन् । श्रोतका अनुसार त्यो जग्गा १७ लाख रुपैयामा अर्को व्यक्तीलाई विक्री समेत गरि सकिएको छ । अर्को व्यक्तीलाई पास नदिई सकेको भए पनि पूर्व सभासद मियाले तीन लाख रुपैया बैना लिएर बिक्री गर्न लागेको बेलामा उनकी श्रीमतीले थाहा पाएको माओवादी निकटस्थ श्रोतले जानकारी दिएको छ ।

पूर्व सभासद मियाले पछिल्लो समयमा श्रीमती माथि अत्याचार गरेको माओवादी श्रोतले जानकारी दिएको छ । मुस्लिम धर्म अनुसार श्रीमानले श्रीमतीलाई जुन सुकै बेला पनि तलाक अर्थात सम्बन्ध बिच्छेद गर्न सक्छ । सोही त्रास देखाएर सफिकले श्रीमतीलाई ठुलो तनाब दिएको दावी पनि श्रोतले गरेको छ । माओवादी कास्कीमा एक पक्षले जावेद खातुन मियालाई खराब चरित्रकी महिला बनाएर पूर्व सभासद मियाको संरक्षण गर्न खोजेका छन् । यो षडयन्त्रमा माओवादी पार्टीको कास्की नेतृत्वमा आउने व्यक्तीहरुलाई बदनाम गराउने नियत राखिएको श्रोतले बतायो ।
श्रोतका अनुसार पूर्व सभासद मियाले आफ्नी श्रीमती जावेदलाई क्यान्सर रोग लागेको भन्दै औषधोपचारका लागि पार्टी जिम्मेबारीबाट समेत छुट्टी लिएका थिए । यो करिब दुई महिना अघिको कुरा हो । क्यान्सर रोग लाग्दै नलागेकी श्रीमतीलाई क्यान्सर भएको भन्दै उनले भारतमा लगेर औषधी गर्नका लागि पार्टी नेतृत्वबाट बिदा समेत लिएका थिए ।

शुरुमा पतिको आश्वासनमा विश्वास गरेकी जावेद मियाले पछि श्रीमानको क्रियाकलाप प्रति शंका लागे पछि घरबाट भागेकी थिइन । उनले आफु क्यान्सर रोगी नभएको र श्रीमानले जबर्जस्ती क्यान्सर रोगी बनाउन खोजेको बयान पार्टी नेतृत्वलाई दिएकी छन् । त्यसपछि माओवादी पार्टी नेतृत्व पनि अप्ठेरोमा परेको छ । पूर्व सभासद मिया माओवादीको तमुवान राज्य समिति सदस्य हुन । उनको उजुरी राज्य समितिमा परेको छ । विहीबार पनि मिया प्रकरण कै बारेमा छलफल गर्न राज्य समितिको बैठक बसेको थियो । बैठकको निर्णय राती अबेरसम्म पनि प्राप्त हुन सकेन ।

कमेन्टहरु
Loading...