सामुदायिक सेवा केन्द्रले लेकसाइडलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने

पोखरा, ३१ भदौ। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको १२ औ साधारण सभा सोमबार सम्पन्न भएको छ। साधारण सभाले सचिव भिम पराजुलीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हेमप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।
साधारण सभाको उद्घाटनगर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक केदार रिजालले पर्यटकीय क्षेत्र लेकसाइडको सुरक्षा व्यवस्थालाई कडाई गरिने बताए। उनले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी र नागरिक समाज हातेमालो गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका सदस्य टिकाराम सापकोटा, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति पोखरा – ६ का अध्यक्ष गिरिराज अधिकारी, अन्नपुर्ण आमा समुहकी अध्यक्ष अन्नपुर्ण कुँवरले बोलेका थिए।
त्यसअवसरमा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले संस्थाले स्थापना गरेको बालबालिका तथा महिला शशक्तिकरण अक्षयकोषका लागि ५१ हजार एक सय २५ रुपैया प्रदान गरेका थिए। उनले सो रकम संस्थाकी अध्यक्ष पम्फा पहारीलाई हस्तान्तरण गरेका थिए। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शुशीला सुवेदीले स्वागत मन्तव्य, संस्थापक अध्यक्ष मङ्गल नेपालीले धन्यवाद ज्ञापन र सचिव भिम पराजुलीले कार्यक्रम संचालन गरेका थिए।
साधारण सभाले लेकसाइडलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउनका लागि पहल गर्ने कार्ययोजना अघि सारेको सचिव भिम पराजुलीले जानकारी दिए।

कमेन्टहरु
Loading...