पोखरा, ३१ भदौ आसन्न संविधान सभाको चुनावमा सुरक्षामा आउन सक्ने समस्यालाई मध्येनजर गर्दै कास्कीको प्रशासनले पहिल्यैदेखि सावधानी अपनाउन शुरु गरेको छ । प्रशासनले चुनावको बेलामा अवैधानिक रुपमा हातहतियार प्रयोगमा आउन सक्ने औँल्याउँदै त्यस्ता हतियारहरु जिल्ला प्रहरी कास्कीलाई बुझाउन सुचना जारी गरेको छ ।
ईजाजत प्राप्त हतियार पनि चुनावमा अन्य प्रयोजनमा प्रयोगमा आउन सक्ने खतरालाई न्यून गराउन यस्तो सुचना जारी गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । ‘सुचना जारी गरेअनुरुप यदि कसैले हतियार बुझाउन नमानेको खण्डमा उनीहरुलाई हदैसम्मको कारबाहि हुनसक्छ ।’ कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोईरालाले भने–‘हतियारहरुको प्रयोग भैरहेकोले पनि हामीले यो सुचना जारी गरेका हौँ ।’
जाजरकोटमा लुकाईएको अवस्थामा ४४ थान थ्री नट थ्री राईफल भेटिएसंगै कास्की प्रशासनले पनि चुनावमा आउन सक्ने सुरक्षात्मक खतरालाई मध्यनजर गरेर यस्तो सुचना जारी गरेको बताएको छ । प्रशासनले दिएको म्यादअनुसार जिल्लाबासीले असोज ६ गतेभित्र हतियार प्रहरीलाई बुझाईसक्नुपर्नेछ । निर्वाचनलाई भयरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न हातहतियार तथा खरखजना ऐन २०१९ को दफा ८ बमोजिम प्रशासनले सुचना जारी गरेको दाबी गरेको छ ।