जलवायु परिवर्तनबारे जनजाति अगुवालाई प्रशिक्षण

पोखरा, ३० भदौ/कास्की जिल्लाका आदिवासी जनजाति अगुवाहरूका लागि ‘जलवायु परिवर्तन, रेड प्लस र आदिवासी जनजाति सरोकार’ सम्बन्धी एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीको आयोजना तथा जलवायु परिवर्तन र रेड साझेदारी कार्यक्रमको सहयोगमा आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् लमजुङका अध्यक्ष एवं रेड परियोजनाका राष्ट्रिय प्रशिक्षक खेमज· गुरुङ र नेपाल मगर सङ्घ कास्कीका सह–कोषाध्यक्ष एवं अर्का राष्ट्रिय प्रशिक्षक कुमार थापामगरले क्रमशः स्वतन्त्र, अग्रीम तथा पूर्व सूचित मञ्जुरी र रेड, रेड प्लस र आदिवासी जनजातिका सरोकार विषयमा सहजीकरण गर्नुभएको थियो ।
सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीसम्बद्ध आदिवासी जनजाति अगुवा, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ कास्की, नेपाल आदिवासी जनजाति युवा महासङ्घ कास्की, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीलगायतका विभिन्न जातीय घटक सङ्घसंस्थाका प्रतिनिधिहरूसहित करिब ६० जनाको सहभागिता थियो ।
उक्त प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको समापन गर्दै महासङ्घका जिल्ला अध्यक्ष पानबहादुर घर्तीले जिल्ला स्तरमा आदिवासी जनजाति अगुवालाई जलवायु परिवर्तन, रेड र रेड प्लसबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
 

कमेन्टहरु
Loading...