चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्चको पाँचौं साधारणसभा

पोखरा, भदौ ३० गते /चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्च, कास्कीको पाँचौं साधारणसभा पोखरा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष क्या. नरेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि स्याङ्जाली सम्पर्क सदनका संस्थापक तथा पूर्व अध्यक्ष रामप्रसाद श्रेष्ठले संस्थाले स्याङ्जालीहरुको एकताका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

सभाले सचिव बुद्धिराम लम्सालले प्रस्तुत गर्नुभएको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन पारित गरेको थियो । उपाध्यक्ष पूर्णबहादुर थापाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सदस्य रुद्र सन्देश मगरले गर्नुभएको थियो । कार्यक्रममा चन्द्रा थापा, टीकाराम राना, टोलमाया थापा, ओमबहादुर राना, बुद्धि आचार्यलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सोही अवसरमा राष्ट्रिय बाल दिवसको सन्दर्भमा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम पनि सम्पन्न गरिएको सदस्य रुद्र सन्देश मगरले जनाउनुभयो ।बाल प्रतिभाहरु तुषार राना, मञ्जिल थापा, सन्दिप थापा, श्रद्धा थापा, निसा आले, अस्मीता आले, सुनीता रानालगायतले गीत तथा नृत्य प्रस्तुत गरेका कार्यक्रममा कलाकार नरजङ गुरुङ र शारदा थापाले पनि आफ्ना प्रस्तुतीहरु राखेका थिए । मञ्चले आगामी वर्ष दन्तशिविर सञ्चालन, सहकारी स्थापना, समाज घर निर्माण, छात्रवृत्ति कोष स्थापनालगायतका कार्यक्रम सञ्चालन गर्ने योजना निर्माण गरेको सदस्य रुद्र सन्देश मगरले बताउनुभयो ।

कमेन्टहरु
Loading...