पोखरा,२९भदौ। कास्की जिल्ला ब्याडमिन्टन सङ्घको शनिबार पोखरामा सम्पन्न १८ औं वार्षिक साधारणसभा एवं छैटौं अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि डम्मरसिंह गुरुङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।अध्यक्ष गुरुङ नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य पनि हुन्।सम्पूर्ण पदमा निर्विरोध भएको समितिको प्रथम उपाध्यक्ष बलभद्र नकर्मी, द्वितीय उपाध्यक्षमारूद्रहादुर घले, सचिवमा निरबहादुर थापा, कोषाध्यक्षमा इन्द्रबहादुर गुरुङ रहेका छन्।यस्तै समितिको सदस्यमा मनोज श्रेष्ठ, रामराज अधिकारी, सवर्णमान नकर्मी र संजोग गुरुङ चयन भएका छन्। छ सदस्य सङ्घे पछि मनोनीत गर्नेछ भने समिति पूर्ण बनेपछि दुई उपाध्यक्ष, एक सहसचिव र तीन सदस्यको विभाजन गरिने नवनिर्वाचित सङ्घका सचिव निरबहादुर थापाले जानकारी दिए।
अधिवेशनले सचिव नरबहादुर गुरुङद्वारा प्रस्तुत प्रगति प्रतिवदेन तथा कोषाध्यक्ष इन्द्रबहादुर गुरुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको छ। वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाको संयोजकतवमा यदुनाथ अधिकारी सदस्य रहेको निर्वाचन समितिले सो कार्यसमितिको चयन गरेको हो।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रमेशकुमार श्रेष्ठले पुराना प्रशिक्षहरू धमाधन निवृत्त हुँदै जाने तर नयाँ प्रशिक्षक नभएको हुँदा त्यसको लागि राष्ट्रिय खेलकुद परिषद्सँग बारम्बार आग्रह गरिएको भए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार गर्नको लागि सङ्घले सोच्नुपर्ने बेला आएको भन्दै उनले निकट भविष्यमै नेपालमा चौथो सार्कस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको र त्यसको लागि राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए।
कुमुदिनी होम्सका संस्थापक अशोक पालिखेले विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्नको लागि कास्की शाखाले विशेष व्यवस्था गर्नुपर्ने धारणा राखे। सङ्घका अध्यक्ष खेम गुरुङले आफूहरू रड्डशाला प्रवेश गर्दाको सङ्घ र हालको सङ्घको स्थितिमा आकाश पाताल फरक रहेको बताए।
नवनिर्वाचित अध्यक्ष डम्मरसिंह गुरुङले आफू सबैसँग हातेमालो गरेर सङ्घलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।सो अवसरमा पल्सर स्पोर्टस् अवार्डबाट सम्मानित उसुकी अन्तर्राष्ट्रिय खेलाडी झरना गुरुङ, ब्याडिमिन्टनकी पुनम गुरुङलाई सम्मान गरिएको थियो।
कार्यसमिति सदस्य निरबहादुर थापालाईउत्कृष्ट खेलाडी सदस्यको रूपमा सम्मान गरिएको थियो।यस्तै सङ्घद्वारा सञ्चालित अन्तरसदस्यीय ब्याडमिन्टन प्रतियोगिता सुपरलिगका विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो। सङ्घका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष बलभद्र नकर्मीले स्वागत मन्तव्य र सचिव नरबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।