एक महिने निशुल्क आत्मरक्षा तालिम

पोखरा, १६ बैशाख/पोखरा महानगरपालिका वडा नं. ६ को सहयोग तथा लेकसाइड तेक्वान्दो डोजाङको आयोजनामा एक महिने निशुल्क आत्मरक्षा तालिम सम्पन्न भयो । तालिम समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद प्रभा कोइरालाले यस्ता तालिमले समाजमा किशोरीमाथी भइरहेको घटनालाई रोक्न मद्दत पु¥याउने बताइन् । यस्ता तालिम प्रदेशका हरेक टोलमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

निःशुल्क तालिममा झण्डै ८० को हाराहारीमा सहभागी बनेकोे प्रशिक्षक प्रितम कुँवरले बताए । पोखराको ताल बाराही मावी, पार्दी मावी र श्रीकृष्ण मावीका विद्यार्थीलाई निःशुल्क तालिम दिइएको हो । सरकारी स्कुललाई लक्षित तालिम थियो । पाँचौ पटकसम्म निःशुल्क तालिम दिएको भएपनि यसपाली पोखरा महानगरपालिका वडा नं. ६ ले सहयोग गरेको प्रशिक्षक कुँवरले बताए ।

पोखरा महानगरपालिका वडा नं. ६ की वडा सदस्य पुष्पा पहारीले वडाको सहयोगमा छात्राहरुको लागि आत्मरक्षा तालिम आयोजना गरेको बताइन् । ‘देशमा विभिन्न घटना घटेका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बच्न सकुन् भन्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो’ पहारीकोे भनाइ थियो । तालिम मार्फत बच्चाहरुलाई आत्मरक्षागर्ने कलासँगै आत्मबल बढ्ने उनको अपेक्षा छ । ‘घटना नघटुन्, बच्चाहरुलाई आक्रमण गर्न नसकुन् भनेर वडाले सर्पोट गरेको हो’ उनले थपिन् । तालिममा सहभागी किशोरीले तालिम पश्चात आफुहरुमा आत्मबल बढेको प्रतिक्रिया दिए ।

तालिममा सहभागी अस्मिता दाहाल निःशुल्क रुपमा सिक्न पाउँदा खुशी लागेको बताइन् । यस्तै ७ कक्षामा अध्ययनरत सिर्जना विष्ट तालिमले आत्मरक्षा गर्ने सिप प्रदान गर्नेमा आशावादी छन् । कक्षा ७ मा अध्ययनरत अस्मिता सुनार तालिम लिएपछि आफैलाई फाइदा हुने बताइन् । ५ कक्षामा अध्ययनरत अंकिता दाहाल र आकृती दाहाल पनि आत्मरक्षा तालिम गर्न पाएकोमा उत्साहित बनेको बताए । उनीहरुलाई तेक्वान्दो प्रशिक्षक प्रितम कुँवरले तालिम दिएका हुन् ।

कमेन्टहरु
Loading...