माओवादीले प्रचार समिति गठन

पोखरा, २७ भाद्र /एकीकृत नेकपा (माओवादी) निर्वाचन क्षेत्र नं. १ कास्कीले निर्वाचन क्षेत्रमा गंगा पोखरेलको नेतृत्वमा १ हजार १ सय १५ सदस्यीय संविधान सभा निर्वाचन प्रचार समिति गठन गरेको छ । क्षेत्रीय कार्यालय लेखनाथमा क्षेत्रीय संयोजक गंगा पोखरेलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो । प्रचार समितिमा क्षेत्रभित्र क्रियाशील जिल्ला सदस्यहरु लगायत पार्टीका सम्पूर्ण सदस्यहरु सदस्य रहनेछन् ।
त्यसै गरि बैठकले गंगा पोखरेलकै अध्यक्षतामा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । समितिमा राज्य समिति सदस्य, जिल्ला समिति सदस्यहरु र नगरका वडा र गाबिसका अध्यक्षहरु सदस्य रहनेछन् । बैठकले केन्द्रले निर्देशित गरेबमोजिम सुदृढ संगठन, व्यापक जनपरिचालन, जनताको घरदैलोमा माओवादी अभियान नामक एक महिने अभियानका लागि ६ वटा अभियान टिम पनि निर्माण गरेको छ ।
अभियानले जनप्रशिक्षण, उत्पादन र निर्णयको सम्भावित अध्ययन, जनवर्गीय संगठनहरुका सदस्यता वितरण र नविकरण लगायतका काम गर्ने पनि निर्णय गरेको छ । बैठकमा बोल्दै एकीकृत माओवादीका केन्द्रीय सदस्य एवम् निर्वाचन अभियानका नेता झलकपाणि तिवारीले अब पार्टी सम्पूर्ण शक्तिका साथ निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो –‘यो व्यक्तिको हारजितको प्रश्न होइन, वर्गसंघर्षकै शान्तिपूर्ण मोर्चा हो, यो मोर्चा हामीले जित्नैपर्छ ।’
नेता तिवारीले पार्टी केन्द्र र राज्य कार्यालयले गरेका निर्णयहरुको बैठकमा जानकारी गराउनुभएको थियो । बैठकले असोज १० गतेसम्मको कार्यतालिका पारित गरेको छ । यसै गरि वार्ता र तालमेलका लागि वार्ता तालमेल समिति, आर्थिक परिचालन समिति, कानुनी सचेतना र प्रतिरक्षा समिति, उत्पादन तथा युवा परिचालन समिति लगायतका समितिहरु निर्माण गरेको छ ।

कमेन्टहरु
Loading...