पोखरा,१३ चैत्र /आफ्नो स्वर्गीय आमाको चौथो वार्षिकी तिथीको अवसर पारी यहांका युवाले पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको कमल पोखरीमा माछाको भुरा छाडेका छन । पोखरा १३ कुंडहर निवासी बिक्रम थापा, बिराज थापा, रवि थापा मगरले आफ्नो स्वर्गीय आमा गंगा माया थापा मगरको चौथो वार्षिकी तिथीको दिन सोमबार एक हजार माछाका भुराहरु कमल पोखरीमा छाडेका हुन ।
कमल पोखरी दिन प्रतिदिन दयनिय अवस्थामा पुगीरहेको माछाका प्रजातीहरु समेत लोप हुदै गइरहेको अवस्थामा रोहु, नैनी र कमन कार्प प्रजातिका १ हजार भुराहरु छाडेको बिक्रम थापा मगरले जानकारी दिए । आफ्नो आमाको बार्षिकी तिथीको अवसर पारी केही सामाजिक काम गरौ भन्ने अभिप्रायले आफुहरु पांच भाइ छोराहरु मिलेर कमल पोखरीमा माछाका भुराहरु छाडेको मगरले वताए ।
समाजमा केही गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नका लागी आफुहरुले आमाको सम्झनामा लोप हुने अवस्थामा पुगेको कमल पोखरीमा माछा छाडिएको भएतापनि आगामी दिनमा कमल पोखरीको संरक्षणमा समेत आफुहरुले चासो दिने बिराज थापा मगरले वताए । कमल पोखरी वडा नम्बर १३ को गहना भएकाले यसको संरक्षण गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र हुन सक्ने थापाको भनाइ रहेको थियो ।
आफ्नो स्वर्गीय श्रीमतीको सम्झनामा छोराहरुले कमल पोखरीमा माछाका भुराहरु छाड्दा आफुलाई निकै खुसी लागेको र यस्ता सामाजिक कामले स्वर्गीय आत्माले शान्ति पाउने स्वर्गीय थापाका पिता ज्ञान वहादुर थापा मगरले वताए । पछिल्लो समय कमल पोखरीको उचित संरक्षण हुन नसक्दा कमलका फुलहरु लोप हुने अवस्थामा पुगेको छभने स्थानिय प्रजातिका माछाहरु समेत लोप भइसकेका छन ।