८६ वर्षमा बोल्नेकला तालिममा

पोखरा, ८ चैत /पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ्ग उमेरले ८६ वर्ष पुग्नुभयो तर सिक्ने मन बुढो हुँदैन भन्दै तालिममा सहभागि हुनुभयो ।

जुरेभुमे तप्रे तमु समाजको आयोजना तथा महिला उद्यमी पवित्रा गुरुङ्गको आर्थिक सहयोगमा सञ्चालित पाँच दिने उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी उहाँले समापन समारोहमा सिक्ने कुरा बाँचुञ्जेल कहिल्यै पुरा नहुने भन्दै ।

तालिमले बोल्ने कलाबारे धेरै कुरा सिकाएको बताउनु भयो । उहाँ जस्तै अन्य सहभागिपनि तालिमबाट धेरै कुरा सिकेको भन्दै बोल्न पनि कला चाहिने रहेछ भन्ने आफ्नो अनुभव सुनाउनु भयो ।

तालिमको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका सदस्य एवं हङकङ ब्यूटि इन्ष्टिच्युटका संचालक मीना गुरुङ जीवननै सिकाइको प्रक्रिया भएको बताउनु भयो । बोल्ने कुराले आत्मविश्वास जगाउने भन्दै सामाजिक क्षेत्रमा मात्रै नभइ घरपरिवार एवं समाजमा पनि बोल्ने कला आवश्यक रहेको बताउनुभयो ।

युवाहरु प्रदेश सरकारका ल्याएको स्वरोजगार कार्यक्रममा सहभागि भएर देश विकासमा भूमिका खेल्नु पर्ने बताउनु भयो । मादि गाउँपालिका वडा न ६ का वडा अध्यक्ष पसबहादुर बाँस्तोलाले परिवर्तित समाजमा बोल्ने कला पनि अपरिहार्य बन्दै गएको धारणा राख्नु भयो । ‘तालिमले आत्मविश्वास बढाउँछ र आफ्नो अधिकारप्रति सजक गराउँछ ।’ उहाँले युवा सामाजिक रुपान्तरणबाट अघि बढ्नु पर्ने बताउनुभयो ।

महिला उद्यमी एवं समाजसेवी पवित्र देवी गुरुङ्गले आफ्नो समुदायको युवाहरु एवम् महिला अझै पनि नेतृत्व विकासको अभावमा सामाजिक क्षेत्रमा क्रियाशिल हुन नसकेका बताउनु भयो । उनीहरुको सशक्तिकरणका लागि तालिमको आयोजना गरेको भन्दै तालिम पछि सहभागिमा आत्मविश्वास बढेको र निर्धक्ककासाथ कार्यक्रम सञ्चालन देखि भाषण गर्न सक्षम भएको देख्दा खुशी लागेको बताउनु भयो ।

कार्यक्रममा भद्रकाली उच्च मावि ब्यवस्थापन समितिका अध्यक्ष तारा बराल, कामना मार्ग आमा समुहका अध्यक्ष योमाया गुरुङ्ग, समाजका अध्यक्ष अमर गुरुङ, युवा समितिका अध्यक्ष हितमान गुरुङले सिकाइ अभ्यासबाट मात्र पोख्न भइने भन्दै सिक्न सधै उत्सुक हुन सहभागिलाई आग्रह गर्नुभयो ।

तालिमका सहभागिहरु बुद्धमाया गुरुङ, अलिन गुरुङ, रोशन गुरुङ,, मोहनप्रसाद गुरुङ लगायतले सिकाइको अनुभव राख्दै बोल्ने कुरा सामान्य मानिएपनि विधि र प्रक्रियाबाट बोलिएको कुराले अर्थ राख्ने र कार्यक्रम सञ्चालनको सैद्धान्तिक र व्यवहारिक कुरा सिक्न पाएको अनुभव राख्नुभयो ।

उक्त तालिमको पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, सञ्चारिका समूह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षा शर्माले सहजिकरण गर्नुभएको थियो । तालिममा ४० जनाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...