ताङतिङमा घरबास र स्वास्थ्य सचेतना

पोखरा, १ चैत /पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले कास्कीको मादी गाउँपालिकामा रहेको ताङतिङ गाउँमा शुक्रबार ग्रामीण घरबास तथा महिला स्वास्थ्य सम्बन्धी सचेतनात्मक कार्यक्रम गरेको छ ।

ताङतिङको हिमाल मिलन माविमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, होमस्टे सञ्चालक र स्थानीय सहभागी भए । टेवानले विद्यालयलाई सेनिटरी प्याड सहयोगस्वरुप हस्तान्तरण ग¥यो । कार्यक्रममा टेवान अध्यक्ष लक्की कार्की क्षेत्रीले होमस्टे सञ्चालन गर्दा सरसफाइमा विशेष ध्यान पु¥याउनुपर्ने बताइन् ।

उनले व्यवस्थित होमस्टे सञ्चालन गर्न अरुभन्दा फरक भएर देखाउनुपर्ने आवश्यकता औंल्याइन् । महिलाले रोग लुकाउँदा ज्यानै जाने खतरा हुने भएकोले निर्धक्क भएर चिकित्सकलाई देखाउनु पर्नेमा उनले जोड दिइन् ।

महिला स्वास्थ्यका बारेमा डा.रुमी तण्डुकारले सचेतनामूलक भनाइ राखिन् । उनले महिनावारी हुँदा देखिने समस्या, तिनका समाधानका उपाय लगायत विषयमा बोलिन् । महिनावारी सामान्य विषय भएकोले लाज मान्न नहुने स्पष्ट पारिन् । टेवान उपाध्यक्ष रेणु थापाले महिनावारी हुँदा विद्यालयबाट घर जान नपरोस् भन्नका लागि सेनिटरी प्याड सहयोग गरेको बताइन् ।

महासचिव कमला गिरीले पश्चिमको छाउपडि प्रथाजस्तै महिनावारी बार्ने चलन अझैं पनि गाउँगाउँमा रहेकोले अन्धविश्वासको पछि नलाग्न आग्रह गरिन् । कार्यक्रम संयोजक एवं टेवान सदस्य शोभा पौडेलले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ८ मार्चमा कार्यक्रम गर्नुपर्ने भएपनि विशेष कारणवस पछि सरेको जानकारी दिइन् ।

कार्यक्रममा मादी २ का अध्यक्ष एकजंग गुरुङले ताङतिङको होमस्टेले महिलालाई आयआर्जन गर्न सघाएको बताए । उनले पोखराबाट सामान बोकेर गाडी आएपनि फर्किदा खाली पठाउनुपरेको दुखेसो पोखे ।

‘यहाँको तरकारी बजारमा विक्री गर्ने हो भने आयआर्जनमा सुधार हुन्छ,’ उनले भने, ‘त्यसो गर्न सके बसाइसराइ पनि रोक्न सकिएला ।’ विद्यालयका प्रधानाध्यापक ओमप्रकाश गुरुङले ताङतिङमा पशुपालन र ग्रामीण पर्यटनको सम्भावना औंल्याए ।

कमेन्टहरु
Loading...