राष्ट्रिय महिला भलिबलमा एपीएफ र डायमण्ड फाइनलमा

सागर राज तिमिल्सिना
पोखरा, २२ भाद्र/पोखरामा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) र न्यू डायमण्ड स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेका छन् । शनिबार सम्पन्न पहिलो सेमीफाइनलमा साविक विजेता एपीएफले नेपाल प्रहरीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । एपीएफले नेपाल प्रहरीलाई २५–५, १८ –२५, २५–१५, २५–१९ को सेटमा हराएको हो । नेपाल प्रहरीलाई अघिल्लो वर्ष पनि एपीएफले फाइनल रोक्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।

शनिबार नै सम्पन्न दोस्रो सेमीफाइनलमा पोखराको ज्ञानुबाबा उच्च मावि न्यू डायमण्ड स्पोर्टस् क्लबसँग ३–२ को सेटमा पराजित भयो । डायमण्डले ज्ञानुबाबालाई १४ –२५, २५–१०, २४–२६, २५–१५, १५ –८ को सेटमा हराएको हो । लिग चरणमा दुई खेल जितेर समूह खको विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको ज्ञानुबाबा मञ्जु गुरुङको कप्तानीमा पनि अन्ततः डायमण्डसँग पराजित हुन पुग्यो । उता, दुई खेल जित्दै एपीएफ समूह क बाट विजेता बन्दै फाइनल प्रवेशका लागि ख को उपविजेता नेपाल प्रहरीसँग भेट सुरक्षित गरेको थियो ।

शनिबार नै भएको लिग चरणको चौथो खेलमा ज्ञानुबाबाले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा पराजित गरेको थियो । उसले २५–१६, २५–८, २५–११ सेटमा पराजित गरेको हो । पाँचौ तथा अन्तिम खेलमा न्यू डायमण्डले पोखराको टप्स उच्च माविमाथि सोझो सेटमा २५–११, २५–१२, २५–९ को नतिजा निकाल्दै समूह क को उपविजेता बनेको थियो । लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजको १७ औ वार्षिकोत्सवको अवसरमा आयोजित सो प्रतियोगिताको फाइनल आइतबार हुने आयोजकले जनाएको छ ।

आइतबार नै तेस्रो स्थानका लागि ज्ञानुबाबा र नेपाल प्रहरीबीच प्रतिष्पर्धा हुनेछ । विजेताले ५० हजार एक सय एक, उपविजेताले ३० हजार एक सय एक, तृतीयले १५ हजार पाउने छ । सेमिफाइनलिष्ट एक टिमलाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । यसैगरी, सर्वोत्कृष्ट खेलाडी तथा अन्य छ विधाका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । तीजको अवसरमा लामाचौरमा आयोजित हरितालिका तीज महोत्सवको अवसरमा संस्थाले अघिल्लो वर्षदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता सुरु गरेको हो ।

कमेन्टहरु
Loading...