क्यासिनोमा नियमित नेपाली समाउनै सकिएन–एसपी, चाहे सजिलै समातिन्छन–खेलाडी

रामकृष्ण ज्ञवाली
पोखरा, ३ असोज
क्यासिनोमा नेपालीहरुलाई प्रवेश गर्न नदिइने भनिए पनि पोखरामा सञ्चालन भएका क्यासिनोहरु नियमित रुपमा नेपालीहरुले खेल्ने गरेका छन् । सेटिङ्ग र लाइन मिलेका कारण क्यासिनोमा नेपालीहरु ढुक्कसंग ‘खेल्ने र खेलाउने’ भैरहेको छ ।
पोखराका दुइ वटा पाँच तारे होटल फुलबारी रिसोर्ट र पोखरा ग्राण्डमा क्यासिनो सञ्चालनमा छन् । फुलबारी रिसोर्टको क्यासिनो व्यवस्थापकीय कमजोरीका कारण जुवाडेहरुको कम रोजाइमा पर्ने गरेको छ भने पोखरा ग्राण्डको क्यासिनो नेपाली जुवाडेहरुको मुख्य रोजाइ स्थल बनेको छ ।
प्रहरीले बाहिरका तास खालमा समेत कडाइ गरिरहेको अवस्थामा क्यासिनो जुवाडेका लागि सुरक्षित जुवा घर भएका छन् । ग्राण्डमा तीन वटा प्रवेशद्वार पार गर्दै जुवा स्थलमा जानु पर्ने भएकाले पनि जति बेला चाह्यो उती बेला छापा मार्न प्रहरीलाई असजिलो छ । यही बाहानामा प्रहरीले प्रभाबकारी ढंगले ‘एक्सन’ लिएको छैन भने जुवाडेहरुले सुरक्षित महसुस गरेका छन् ।
पोखराका क्यासिनोमा नेपाली खेल्छन भन्ने विषयमा कास्कीका प्रहरी प्रमुख एसपी शैलेष थापा पनि जानकार छन् । “पटक पटक समाउने प्रयास गरेका छौं, भगाई हाल्दा रहेछन् ।’ एसपी थापाले समाधानसंग भने–“क्यासिनो ग्राण्डको स्ट्रक्चर नै त्यस्तै रहेछ, जसकाकारण हाम्रो अभियान प्रभावकारी हुन सकेको छैन ।’
एसपी थापाले नेपाली खेलाउने क्यासिनो विरुद्ध कारवाही गर्न निर्देशन दिदैं आएका छन् । तर प्रहरी अभियान असफल जस्तै छ । तीन दिन अघि फुलवारी रिसोर्ट स्थित क्यासिनोमा छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गर्नु बाहेक अन्य सफलता हात पारेको छैन । ती दुई जनालाई सार्बजनिक अपराध ऐन अन्तरगत म्याद थपेर कास्की प्रहरीको हिरासतमा राखिएको छ ।
सुरक्षा व्यवस्था र सुरक्षकर्मीको पहुँचका हिसाबले फुलबारी भन्दा ग्राण्डको क्यासिनो बढी जोखिम पूर्ण भएको जुवाडेहरु बताउछन् । होटल ग्राण्डको झण्डै प्रवेशद्वारमा नै नेपाल प्रहरीको सिआरभी टोली चौबिसै घण्टा बसेका हुन्छन् । सिआरभीमा प्रहरी अधिकृत कै कमाण्डमा पाँच जना प्रहरी रहन्छन् । वडा प्रहरी कार्यालय बैदामको गस्ती गाडी पनि प्राय सोही बाटो हिडिरहन्छ । प्राय जसो नेपाली भिआइपीहरु बस्ने पोखरा ग्राण्डमा जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यलयका प्रमुख लगायतका बरिष्ठ अधिकृतहरु बेला बेलामा गैरहेका हुन्छन् ।

कमेन्टहरु
Loading...