हरितालिका तीज महोत्सव शुरु

सागर राज तिमिल्सिना
पोखरा, २१ भदौ/मौलिक संस्कृतिको जगेर्ना गरौ’ भन्ने उद्घोषका नवआदर्श सामुदायिक विकास समाज लामाचौर, पोखराको आयोजनामा शुक्रबारदेखि हरितालिका तीज महोत्सव तथा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । संस्थाको १७ औ वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सव लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी उच्च मावि परिसरमा सुरु भएको हो । महोत्सव तीन दिनसम्म चल्नेछ ।
महोत्सवको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गरे । लामाले नवआदर्श सामुदायिक विकास समाज पोखराको पहिचानको रुपमा स्थान ग्रहण गरेको भन्दै संस्थाले आयोजना गरेको तीज महोत्सव तथा विभिन्न खेलकुद प्रतियोगिताले आपसी भातृत्वको विकास गराउनमा मद्धत मिल्ने बताए । यस महोत्सवले सम्पूर्णमा एकताको सन्देश प्रवाह गरेको पनि उनको भनाइ थियो । कार्यक्रममा राखेपका विभागीय प्रमुख कोमलप्रसाद खनालले लामाचौरमा खेल सुरुवात गरेका खेलाडीहरु आज राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनुमा नवआदर्श सामुदायिक विकास समाजको भूमिका रहेकोमा संस्थाको कार्यप्रति प्रशंसा गरे ।
संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत उपाध्यक्ष शोभा केसीले र सञ्चालन लक्ष्मी पाण्डेले गरेका थिए । महोत्सवको पहिलो दिन राष्ट्रिय महिला भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता सुरु भएका छन् । तेस्रो नरबहादुर बानियाँ मेमोरियल जिल्लास्तरीय सितेरियो कराँते च्याम्पियनसीप अघिल्लो दिनै सुरु भएको हो । कराँतेमा जिल्लाका ११ डोजोका तीन सय सात खेलाडीको सहभागिता छ । महोत्सवको दोस्रो दिन शनिबार अन्तरमावि छात्रा भलिबल, अन्तरमावि लोकनृत्य सुरु हुने खेलकुद संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका विजेताहरुलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको हुँदा अपेक्षा बढी टिम दर्ता छ । महोत्सवको थप आकर्षणको रुपमा पत्रकार दौड, महिला म्यूजिकल चियर, घैटो फुटाउने, टायरमा बल छिराउने, रस्साकसीलगायतका मनोरञ्जनात्मक प्रतियोगिता पनि हुने श्रेष्ठले बताए । तीज गीत प्रतियोगितामा १६ टिमको सहभागिता रहेकोमा विभिन्न समूहले शुक्रबार गायन प्रस्तुत गरेका छन् ।
कार्यक्रममा लोकदोहोरी कलाकारहरु जीवन दाहाल, सरला पाण्डे, राजन कार्की, ज्योति लोहनी, चन्द्रा कार्की, घनश्याम रिजालले गायन प्रस्तुत गरेका थिए । महोत्सवको अन्तिम दिन तीजे गीतका लागि अहिलेको हट गायक पशुपति शर्माको उपस्थिति रहने साँस्कृतिक उपसमितिका संयोजक पुष्पेन्द्र पाण्डेले बताए ।
महोत्सवमा व्यापारिक प्रबद्र्धनका १९ वटा स्टल रहेका छन् भने खाजाका १० स्टल छन् । महोत्सवमा बालउद्यान पनि रहेको छ । पिङमा मच्चिनका लागि पनि कतिपय दर्शक लामाचौर महोत्सव पुगेका थिए । महोत्सवको विशेष समारोहको उद्घाटन भने आइतबार पूर्वउपसभापति चित्रलेखा यादवले गर्ने संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।

कमेन्टहरु
Loading...