लेकसाइडमा पाँचौ तीज साँस्कृतिक महोत्सव शुरु

पोखरा, २१ भदौ/सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा शुक्रबारदेखि पाँचौ तीज साँस्कृतिक महोत्सव शुरु भएको छ । आर्थिक, सामाजिक, खेलकुद तथा पर्यटन प्रवद्र्धन, पाँचौ तीज साँस्कृतिक महोत्सव कला र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सव आइतबारसम्म चल्ने छ ।
समाजमा विद्यमान संस्कार र संस्कृतिको सम्वद्र्धन, आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्र्वन, बाह्य संस्कृतिका विरुद्व नेपाली लोकसंस्कृति प्रदर्शन गर्ने लगायतका उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवको आकर्षणमा खुल्ला रनिड्ड शिल्ड भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, तीजगित प्रतियोगिता, महिला डोरी तान्ने खेल, म्युजिकल चियर, कराँते केन्फोकाई लगायत विविध साँस्कृतिक कार्यक्रम रहने छन् ।
प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुनेलाई ४० हजार, द्धितिय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार, मैत्रीपूर्ण महिला भलिबलतर्फ प्रथम पुरस्कार १० हजार र द्धितीय पुरस्कार सात हजार रहेको छ । त्यसैगरी तीज गित प्रतियोगितातर्फ प्रथम पुरस्कार १५ हजार, द्धितीय पुरस्कार १० हजार, तृतीय पुरस्कार सात हजार, उत्कृष्ट नृत्यमा दुई हजार र उत्कृष्ट भेषभुषामा दुई हजार रहेको छ ।
पर्यटक रस्साकस्सीमा पाँच हजार, महिला रस्साकस्सीमा तिन हजार, घैटो फुटाउनेमा तिन हजार, कराँते केन्फोकाईमा दश हजार र बेष्ट प्लेयर लगायतका विविध विधामा २० हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । करिव एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिको छ। महोत्सव सम्पन्न गर्नका लागि करिव सात लाख ६५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
शुक्रबार महोत्सवको उद्घाटनगर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले खेलकुदको माध्यमबाट समाजिक जागरणको विकास र राष्ट्रिय एकता कायम गर्न सकिने बताए । त्यस अवसरमा कास्की भलिबल सङ्घका अध्यक्ष अनिल सिंहले पनि बोलेका थिए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामकी अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खुल्ला भलिवल संयोजक चेतनारायण पाण्डेले स्वागत र सचिव एवं प्रचार प्रसार समिति संयोजक भिम पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।
शुक्रबार सुव्रिना गुरुङ र दुर्गा न्यौपानेको समुहवीच भएको महिला मैत्रीपुर्ण भलिबल प्रतियोगितामा दुर्गा न्यौपानेको समुह विजयी भएको छ । त्यसैगरी, अन्तर सामुदायिक मैत्रीपुर्ण भलिबलतर्फ माटेपानी र बगरवीचको खेलमा माटेपानी सामुदायिक केन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ ।

कमेन्टहरु
Loading...