पोखरा, १२ फागुन/नेपाल नर्सिङ संघ कास्कीले आफ्नै भवन निर्माण गरेको छ । भवनको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शनिबार उद्घाटन गरिन् ।
उनले नर्सिङ पेसा निकै सम्मानित पेसा भएको उल्लेख गर्दै नर्सहरुको पारिश्रमिकमा भने समयक्रम अनुसार वृद्धि गर्नुपर्नेमा जोड दिइन् ।
झण्डै ४८ लाख रुपैयाँ रुपैयाँ लागतमा निर्मित दुईतले सो भवनमा ६ वटा कोठा रहेको संघ जिल्ला उपाध्यक्ष नीलम महर्जनले जानकारी दिइन् । भवन निर्माणपछि नर्सहरुको लागि थप सहज हुने अपेक्षा गरिएको छ ।
संघ जिल्ला अध्यक्ष क्षेत्र रोकाको अध्यक्षतामा भएको समारोहमा नेपाल नर्सिङ संघ केन्द्रीय अध्यक्ष प्रोफेसर तारा पोख्रेल लगायतले बोलेका थिए ।
संघ जिल्ला उपाध्यक्ष नीलम महर्जनले स्वागत मन्तव्य व्यक्त गरेको समारोहको संचालन सदस्य मीनु श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा कास्कीमा कार्यरत करिब २ सय ५० जना नर्सहरुको सहभागिता थियो ।
संघ जिल्ला सचिव एवं भवन निर्माण समिति संयोजक मुना सिलवालले कार्यसमितिको गतिविधि तथा भवन निर्माणबारे प्रकाश पारेकी थिइन् ।
२०७३ सालमा स्थापित कमिटीले विभिन्न कार्यक्रम र चन्दामार्फत संकलन गरेको रकमबाट भवन निर्माण गरेको हो । निर्माणको लागि संघ केन्द्र, सांसद सूर्यबहादुर केसी, अमेरिकन नर्सिङ एशोसिएसन, अष्टे«लिया, जापान र आयरल्याण्डमा कार्यरत नेपाली नर्सलगायतले आर्थिक सहयोग गरेका थिए ।