दलहरु उम्मेदवारी छान्ने र चुनावी रणनीति बनाउने चटारोमा

सूर्यचन्द्र बस्नेत
काठमाडौँ, १९ भदौ  संविधानसभा निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरुलाई अहिले उम्मेदवारी छान्ने र चुनावी रणनीति बनाउने चटारो छ । केन्द्रमा घोषणापत्र मस्यौदा, उम्मेदवार छनोट, अन्य दलसँगको तालमेल र अर्थ सङ्कलन समितिसहितको निर्वाचन परिचालनको रणनीति बनाउनमा व्यस्त रहेका दलहरु जिल्ला र क्षेत्रमा भने उम्मेदवार चयन गर्न भ्याइनभ्याइ छ ।
मुलुकका कुन कुन निर्वाचन क्षेत्रमा को को प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोटमा पर्ने हुन् भन्ने चासो र चर्चा सँगसँगै चुनावी राजनीतिलाई तताएको छ । यसले निर्वाचनको रौनकलाई पनि एक्कासी बढाएको छ । असोज १० गतेका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय तोकेपछि निर्वाचनको मिति नजिकिँदै जाँदा २४० निर्वाचन क्षेत्रबाट प्रत्यक्ष एवम् समानुपातिकबाट उम्मेदवार तय गर्ने दबाब दलहरुलाई परेको हो ।
एनेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका ठूला साना दलहरु उम्मेदवार छनोटको प्रक्रियामा जुटिसकेका छन् प्रायः दलले प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिसका लागि क्षेत्रलाई निर्देशन दिएका छन् । धेरै ठाउँमा निर्देशनको पालन भए पनि कतिपय ठाउँमा तोकेभन्दा तेब्बर चौब्बरसम्म नाम सिफारिस भएको छ । उम्मेदवार चयनमा कतै मतदान त कतै विवाद र कतै शक्ति प्रदर्शनसमेत भएको छ । अधिकांश दलले यही महिनाको अन्तसम्म उम्मेदवारी सिफारिस केन्द्रमा पठाइसक्ने निर्देशन दिएको छ
मधेसका दलहरु पनि चुनावी सम्मेलन, सभा र तालमेलका काममा व्यस्त छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले विराटनगरमा केन्द्रीय सम्मेलन गरी निर्वाचन
रणनीति र घोषणापत्रको कामलाई अघि बढाएको छ । मधेसी जनअधिकार (फोरम) नेपालले असोज १० गतेसम्म उम्मेदवार सिफारिस केन्द्रमा पठाउने निर्णय गरेको वरिष्ठ नेता भरतविमल यादवले बताउनुभयो ।

कमेन्टहरु
Loading...