महिला फुटबलमा नेपालले भारतलाई हरायो

पोखरा, २९ माघ /नेपाली महिला सिनीयर टोलीले भारती फुटबल टोलीलाई हराएको छ । भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई २ १ गोल अन्तरमा हराएको हो ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई जिताउन साबित्रा भण्डारीले दुबै गोल गरिन् । खेलको पाँचौ मिनेटमा साबित्राले गोल गर्दै नेपाललाई अग्रता दिएकी थिइन् । लगत्तै उनैले सातौं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन् ।

भारतका लागि खेलको ८४ औं मिनेटमा रातनबाला देवीले एक गोल फर्काइन् । पहिलो खेलमा म्यानमार विरुद्व पराजित भएको नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

यो जितसँगै ३ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको म्यानमारको ६ अंक छ । तेस्रो स्थानमा रहेको भारतको समेत नेपालसँगै समान ३ अंक भए पनि उ हेड टु हेडमा नेपालभन्दा पछि छ । पहिलो खेलमा भारतले ईरानलाई हराएको थियो । नेपालले अब लिग चरणको अन्तिम खेलमा ईरानसँग खेल्नेछ ।

कमेन्टहरु
Loading...