उम्मेदवार छान्न कास्की कांग्रेसलाई धौधौ , एउटै क्षेत्रबाट समानुपातिकमा २१ जनाको नाम

गोकुल बानियाँ /पोखरा १७ भदौ । दोस्रो संबिधानसभा निर्बाचनमा उम्मेदवार बन्नेको लर्को लागेपछि कास्की कांग्रेसलाई उम्मेदवार सिफरिसमा समस्या भएको छ । मंगलवार सम्म उम्मेदवार सिफरिसको लागि पार्टीले समय दिएपनि बिबादको कारण भोलिनै उम्मेदवारको टुङ्गो लगाउने संभाबना कम देखिएको छ । ४ वटा निर्बाचन क्षेत्र रहेको कास्कीका सबै क्षेत्रबाट कांग्रेसले उम्मेदवार छान्न सकेको छैन । स्रोतका अनुसार क्षेत्रनम्बर १ र ३ मा बिबाद देखिएको छ । दुई क्षेत्रका उम्मेदवारको नामनै नआएपछि जिल्ला समितिको सोमबार बसेको बैठकले उम्मेदवार सिफरिसको टुङ्गो लगाउन नसकेको हो ।
एउटा निर्बाचन क्षेत्रबाट प्रत्यक्षमा ३ र समानुपातिकमा ५ जना गरी ८ जना जिल्ला कार्यसमितिलाई सिफरिस गर्नुपर्नेमा एउटै क्षेत्रबाट समानुपातिकमा २१ जनाको सम्म नाम आएको छ । कास्कीमा कांग्रेसमा ठुला नेताहरुबीच गोप्य गठबन्धन भएको चर्चा चलिरहेको छ । तारानाथ रानाभाट, शुक्रराज शर्मा र महादेव गुरुङबीच एकले अर्कोलाई सघाउने गरी गोप्य गठबन्धन भएको श्रोतले बताएको छ । रानाभाट क्षेत्रनम्बर १ बाट चुनाव लड्ने आकांक्षा लिएर पोखरा नै आएर बसेका छन् । यस अघि तीन तिर फर्केका तीन अनुहार शर्मा, रानाभाट र गुरुङ एकले अर्कोलाई सहयोग गर्ने गरी एकै ठाउमा उभिएका छन् ।
कांग्रेसमा रानाभाटले इच्छा नराखेको भए सभापति यज्ञ थापा क्षेत्र नम्बर १ का निर्बिकल्प उम्मेद्वार थिए । क्षेत्र नम्बर २ बाट महादेव गुरुङको नाम सिफारिस भए आफुहरुले टिकट नपाउने बुझेका प्रबल दावेदार शारदा पौडेल र गुरु बराल महादेवको नाम ४ नम्बर बाटै पठाउन पर्छ भन्ने पक्षमा छन् । यो क्षेत्रबाट विश्व घिमिरे, निर्मल कर्माचार्य लगायत पनि आकांक्षी छन् । क्षेत्र नम्बर ३ बाट शोभियतबहादुर अधिकारी, नरेश शंकर पालिखे, देवराज चालिसे र शोभाचन्द्र बराल उम्मेद्वारको आकांक्षी रहे पनि पछिल्लो समयमा सुनयना पालिखेको नाम समेत चर्चामा छ ।
१, २ र ४ बाट महिला उम्मेद्वार बन्ने सम्भावना निकै कम भएको र कास्कीमा एक जना महिलालाई टिकट दिनै पर्ने भएकाले सुनयनाले टिकट पाउने सम्भावना बढेको श्रोतको दावी छ । ४ मा शुक्रराजका अलावा रामचन्द्र त्रिपाठी, देवेन्द्र शेरचन, मनोज गुरुङ, दुर्गा तिमिल्सिना आकांक्षी छन् महादेव गुरुङले छोडे पछि यो क्षेत्रमा शर्मालाई टिकट पाउन सजिलो भएको श्रोतको दावी छ ।

कमेन्टहरु
Loading...