गीतकार मन क्षेत्रीको “हामी नउठे को उठ्छ ?” सार्वजनिक

पोखरा, २२ माघ /सञ्चारकर्मी प्रभु अधिकारीको प्रस्तुतिमा गितकार मन क्षेत्रीको सामाजिक सचेतनामुलक गीत “हामी नउठे को उठ्छ ?” को अडियो तथा म्युजिक भिडियो आज पोखरामा सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले उक्त गीतलाई सार्वजनिक गरेका हुन् ।

समारोहमा मेयर जिसीले हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने भन्दै मेयर जिसीले प्रविधी मैत्री वातावरण बनाएर फोहोरलाई पनि मोहोरमा परिणत गर्न सकिने बताए । फोहोरलाइ पनि अब उद्यमको रुपमा विकास गर्नुपर्छ । यसका लागि महानगरले कदम चालेको उनको भनाइ थियो । ‘पोखराका सटरसटरमा वर्कशप छन् । बजारको माझमाझमा कबाडी सेन्टर छन् । तारहरुको जालो फुकाइनसकिने गरि अल्झिएर बसेका छन् । जस्ले सिङ्गो शहरनै कुरुप बनाइरहेको छ । अहिले हामी यस्को व्यवस्थापनमा लागि परेका छौ’—उनले भने ।

फोहोर सफा गर्नुपर्ने भन्दा पनि फोहोर कसरी नगराउने विषयले महत्व राख्ने उनको भनाइ थियो । सुन्दर पोखरा निर्माणका लागि महानगर सधैं नागरिक सँगै रहेको उनले बताए । वृहत सरसफाइ जस्तो महाअभियानमा यस्तो प्रकारको सामाजिक सन्देश मुलक गीतले पोखराको सुन्दरताको प्रचारप्रसार गरि सहयोग पु¥याएकोमा जिसीले आगामी दिनमा महानगर यसरीनै साझेदार भएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले हिजोको पोखरा र आजको पोखरामा आकाश जमिनको फरक भएको बताए । गीतले पोखराको उन्नतीका लागि प्रेरक भूमिका खेल्ने भन्दै हरेकले गीतको भावनालाई मनन् गर्नुपर्ने बताए । पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले गीत सँगीतले मन छुनुपर्ने बताउँदै सार्वजनिक गीत पोखराको समस्याको आवाजको रुपमा रहेको बताए ।

पोखरा पहिला जस्तो रहेन भन्ने गुनासो आइरहेको बेला अब हामी सचेत हुनुपर्ने उनको धारणा थियो । पोखरा महानगरमा यहाँको फोहोर व्यवस्थापनका लागि बाहिरबाट आएका प्रोजेक्टहरुको विषयमा विचार गरेर अनुमोदन गर्न समेत उनले महानगरलाई सुझाव दिए ।

सार्वजनिक गीतका गीतकार मन क्षेत्रीले गीतले मनोरञ्जन मात्र नभै समाजलाई उत्प्रेरित गर्ने भुमिकासमेत खेल्नुपर्ने बताए । गीतको म्युजिक भिडियोका निर्देशक अपिल त्रिपाठीले गीतको गुणस्तरमा सिर्जनशीलता, प्रविधीले महत्वपुर्ण भुमिका खेल्ने बताए । गीतका प्रस्तुतकर्ता प्रभु अधिकारीले आफ्नो दुई वर्ष अघिको सपना पुरा भएको बताए ।

गीतमा नरजंग गुरुङको संगीत छ भने रामभक्त्त जोजिजु, ईतु जोजिजु, अजुदा थापा, योगेश काजी, आशिष दास, नरजंग गुरुङ, मनोज गुरुङ आदी कलाकारको स्वर रहेको छ । गीतको म्युजिक भिडियोलाई सरोज अधिकारीले छाँयाकन गरेका हुन् । निसान घिमिरेको सम्पादन रहेको गीतमा प्रस्तुत कर्ता प्रभु अधिकारी सँगै राजनितिकर्मी, नागरिक समाज, लेखक कलाकार, पत्रकार, विद्यार्थी लगायतको अभिनय रहेको छ ।

कमेन्टहरु
Loading...