पोखरा, २१ माघ /इटहरीमा मदन भण्डारी गोल्डकप उचालेर पोखरा आईपुगेको त्रिभुनव आर्मी क्लब भने क्र्वाटरफाईनलबाटै रित्तो हात फर्किएको छ । सुदुरपश्चिमको खप्तड गोल्डकपमा पराजयसँगै नेपाली भूमिमा फुटबल खेल्न उत्रिएको क्यामरुनी डफिन्स क्लब परिवार छैटौं सस्करणको मनकामना केवलकार पोखरा कपको सेमिफाईनल यात्रा सोमबार तय गर्दा आर्मी पहिलो खेलमै निराशाजनक नजिता व्यहोर्दै फर्किन पर्यो ।
दोस्रो रोजाईको टोली उतारेको आर्मी क्यामरुनी टोलीसँग ४–१ को फराकिलो गोल अन्तरमा पराजित हुदैं बाहिरियो । जुन प्रतियोगिताकै सबैभन्दा फराकिलो अन्तरको हार पनि हो ।
हाफको लागि रेफ्रीले सिठी फुक्नु अघि मात्रै क्यामरुनी टोलीले आर्मी विरुद्ध गोल गर्दै जितको ढोका खोल्यो । हाफको लागि देखाइएको २ मिनेटको अतिरिक्त समयमा अग्ला कदका यान्निक ओवोनाले आरामले गोल गरे । एटकिङ डिफेन्स इकुमले दिएको लङपास डिबक्स लाईनमा बसेका ओवोनाले खुट्टामा आएको बललाई कलेक्ट गरे । अनमार्क रहेको उनले आरामदायी रुपमा बल अगाडि बढाउँदै गोलकिपरलाई जिल्लाउँदै गोल गरेपछि क्यामरुनी टोलीले जितको आशालाई बलियो बनाउन पुग्यो ।
३९ औं मिनेटमा ओवोनाले हानेको हेडिङ सेकेण्ड बारमा लागेर रिवाउण्ड भएको थियो । रिवाउण्ड बललाई एन्जमा यान्निकले प्रहार गरेको बललाई आर्मीका गोलकिपर विश्वास चौधरीले बचाउ गरे । ओवोनलाई पास भने अर्मेल अहण्डाले उपलब्ध गराईदिएका थिए । खेलको ४१ औं मिनेटमा पनि ओवोनाले कर्नरबाट नियोले दिएको पासलाई हानेको हेड क्रसबारमाथिबाट बाहिरियो ।
आर्मीले पनि अवसरलाई चुकायो । ४२ औं मिनेटमा सुदिल राईले डिबक्स भित्रबाट हानेको पावरसट हावामा उडाईदिएपछि आर्मी सम्भावित अग्रता लिनबाट चुक्यो । त्यसभन्दा अघि राजु आलेले हानेको फ्रिकिक पनि क्यामरुनी गोलकिपरकै हातमा दिएपछि आर्मीले त्यो अवसरलाई पनि गुमाउन पुग्यो ।
दोस्रो हाफमा आर्मीमाथि क्यामरुनी टोली हावी रह्यो । अग्ला र शारिरीक रुपमै बलिया अफ्रिकन टोलीले दोस्रो हाफमा एकपछि अर्को गोल थप्यो । ६० औं मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनायो । यान्निक ओवोनाले व्यक्तिगत दोस्रो गोल गरे । उनले डिडर टिनाको पासलाई सदुपयोग गरे । अर्को ६९ मिनेटमा थप्यो । आर्मीका दुई डिफेन्सलाई विट गर्दैअघि अर्मेल अहण्डाले गोल गर्दै खातामा तीन गोल चढाए ।
आर्मीले पनि गोल फर्काउँदै इज्जतलाई भने जोगाउने तर्खर गर्यो । तर ढिला भईसकेको थियो । सुदिल राईको स्थानमा बैकिल्पक रुपमा छिरेका सन्जीव मोक्तानले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै आर्मीको इज्जतलाई ढाक्ने प्रयास गरे । त्यसभन्दा क्यामरुनी टोलीले टिमको लागि चौथो गोल हिर्काइसकेको थियो । ओको बोटाले अतिरिक्त समयमा गोल गर्दै अन्तर फराकिलो बनाए । अतिरिक्त समय पाँच मिनेट थपिएको थियो । खेलमा दुई गोल गरेका यान्निक म्यान अफ दि म्याच घोषित भए ।
कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको तेस्रो क्र्वाटरफाईनल खेल पाहुना टोली रिस्हो युनिभर्सिटी जापानले नेपाल पुलिस क्लबको आतिथ्यता स्वीकार्ने छ ।
 
			