पोखरा, १७ भदौ नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा हरितालिका तीज महोत्सव–२०७० अन्तर्गत हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा पोखराको ज्ञानुबाबा आवासीय उच्च मावि र टप्स उच्च माविसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, न्यू डायमण्ड स्पोर्टस् क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने क्लब अध्यक्ष बुद्धिबहादुर क्षेत्रीले जनाए ।
तीजको अवसरमा हुने विभिन्न प्रतियोगितासहित महोत्सवमा हुने राष्ट्रिय भलिबल प्रतियोगिता विशेष महत्वका साथ हेरिएको छ । आयोजकले यसअघि पनि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो । विजेतालाई ट्रफीका साथमा नगद ५० हजार एक सय एक र उपविजेतालाई ३० हजार एक सय एक रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागिता जनाउने टिमले आफ्नो पक्षमा जीत हात पार्न आन्तरिक प्रशिक्षणमा जुटेको जनाइएको छ । काठमाडौका टिमहरु २० गतेसम्म पोखरा आइपुग्ने प्रचारसंयोजक संजयकुमार अधिकारीले जनाए । तीनदिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय भलिबलसहित विभिन्न खेलकुद प्रतियोगिता हुँदैछ । महोत्सवमा हुने अन्तरमावि भलिबल प्रतियोगितामा छ टिमले आफ्नो नाम दर्ता गराइसकेका छन् । विजेतालाई २५ हजार र उपविजेतालाई १५ हजार साथमा उत्कृष्ट खेलाडीको उपाधि प्रदान गरिनेछ ।
यसैगरी, सितेरियो कराँते प्रतियोगितामा पनि महोत्सवको अर्को आकर्षण रहेको छ । कराँते प्रतियोगिता भने २० गतेदेखि नै सुरु हुने छ । लोकनृत्य प्रतियोगितामा पनि छ टिमले सहभागिता जनाउने निधो गरिसकेका छन् । प्रतियोगिता २२ गते हुने सुरु हुनेछ । लोकनृत्यमा प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई सात हजार रुपैयाँ दिइने छ भने सान्त्वना ३ टिमलाई नगद ३ हजार दिइनेछ ।
महोत्सवको पहिलो दिन सुरु हुने तीजगीत प्रतियोगितामा ८ टिमको निश्चित भैसकेको छ । प्रतियोगितामा भाग लिने समूहले महोत्सवको पहिलो दिन स्टेज शो गर्नुपर्ने छ । प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई सात हजार रुपैयाँ दिइने छ भने सान्त्वना पाँच टिमलाई पुरस्कृत गरिने छ । प्रतियोेगितामा उत्कृष्ट भेषभूषा प्रदर्शन गर्ने तथा वृद्ध नर्तकीलाई पनि पुरस्कारको व्यवस्था छ ।
महिला म्यूजिकल चेयर, खुला घैटो फुटाउने, टायरमा बल छिराउने, पत्रकार दौड पनि महोत्सवका थप आकर्षणहरु रहेको खेलकुद संयोजक सुशीलकुमार श्रेष्ठले जनाए। संस्थाको १७ औ वार्षिकोत्सवको अवसरमा अघिल्ला वर्षझैं यस वर्ष पनि लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी उच्च मावि परिसरमा भदौ २१ देखि २३ गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले क्लब अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए । नवआदर्श सामुदायिक विकास समाजले सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदैआएको छ भने युवाको लागि फुटबल र महिलाका लागि सीपमूलक तालिम पनि प्रदान गर्दैआएको छ । लामाचौरको अग्रणी सामाजिक संस्थाको रुपमा परिचित समाजल एम्बुलेन्स र शवबाहन पनि संचालन गर्दैआएको छ ।
