प्रविण गुरुङ एकल लोकगीत प्रतियोगिताको उपाधी लमजुङका प्रशान्त तामाङलाई

पोखरा, २० माघ/ यो दाजुको मिरमिरे आँखा, फुल मायामा नभुल, माथीबाट को आयो, बेली र चमेली लगायतका दर्जनौ चर्चित गीतका गायक सर्जक स्वर्गिय प्रविण गुरुङको सम्झनामा आयोजित एकल गायन प्रतियोगिताको उपाधी लमजुङका प्रशान्त तामाङको हातमा परेको छ । अन्नपुर्ण गाउपालिकाले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा पुगेका १३ प्रतिस्पर्धीलाई पछाडी पार्दै उनले उक्त उपाधी जितेका हुन् ।

स्वर्गिय प्रविण गुरुङद्वारा गाइएका गीतहरुलाई मात्र प्रतिस्पर्धीले प्रस्तुत गरेका थिए । शनिबार लुम्लेमा सम्पन्न कार्यक्रममा तामाङले प्रविणका दुई चर्चित गीत सालैजो र माथीबाट को आयो गीत प्रस्तुत गरि निर्णायकको मन जितेका थिए ।  उपाधी सँगै तामाङले नगद रु. २० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै द्धितिय, तृतिय र सान्तवनाको उपाधी क्रमश  नवलपरासीकी देवी महत्तो, कास्कीका उमेश अधिकारी र कास्कीकै किसन नेपालीले पाएका छन् ।

उनिहरुले पुरस्कार स्वरुप क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।  कार्यक्रममा प्रविण गुरुङ सँगै गीत गाएकी वरिष्ठ गायिका बिमाकुमारी दुरालाई सम्मान समेत गरिएको थियो । उनले प्रविण सँग ‘यो दाजुको मिरमिरे आँखा, बेली र चमेली’ लगायतका गीत गाएकी थिईन । जुन गीतलाई अहिले पनि उत्तिकै मन पराइन्छ ।

प्रविण गुरुङ
प्रविण गुरुङ

यस्तै कार्यक्रमबाटै पोखरा म्युजिक हाउसका सञ्चालक पृथ्वीमान गुरुङ, प्रविणकी धर्मपत्नी शान्ति गुरुङलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल सरकारका सह—सचिव बिनोद कुँवरले अन्नपुर्ण गाँउपालिकाले गरेको उदाहरणीय कामको प्रशंसा गर्दै आगामी समयमा पनि यस्ता कार्यको निरन्त्रताका लागि आफुले पनि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि एवम प्रधानमन्त्री कार्यालयका प्रवत्ता समेत रहेका कुँवरले सरकारी निकायबाट कलाकारका लागि कुनै किसिमको पहल नभएको गुनासो सुनिरहँदा अन्नपुर्ण गाँउपालिकाले सुरुवात गरेको यस्तो कार्यक्रमले अरुलाई पनि पाठ मिल्ने बताए । अन्नपुर्ण गाँउपालिकाबाट गीत सँगीत क्षेत्रमा लागेका कलाकारहरुको सिर्जनाको संरक्षणका निम्ति प्रतिष्ठाननै गठन गरि यस्ता कार्यक्रमलाई निरन्त्रता गर्न उनले आग्रह गरे । ‘हाम्रो संस्कृति, रितिरिवाज, कला रहे मात्र हामी रहन्छौ, उनले भने, यस्को संरक्षण गर्ने दायित्व पनि हाम्रै काँदमा छ ।’

गायक प्रविण गुरुङका समकालिन सहित उनि सँग साँगितिक काम गरेका कलाकारले समेत उनका गीतलाई प्रस्तुत गरेको देखिन्थ्यो । कलाकारहरु शान्ति गुरुङ, तारापति सुवेदी, जिवन दाहाल, सुरेन्द्र गुरुङ, प्रेमराज अधिकारी, नबिन गुरुङ¬ (लेकाली ब्याण्ड), रामजी पौडेल, लक्ष्मी नेपाली समेत प्रस्तुती राखेका थिए ।

कमेन्टहरु
Loading...