पोखरा, ११ माघ/पोखरामा माघ तेस्रो साता अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटिएफ) यु–१८ टेनिस प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटिएफ) को आयोजना तथा कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा माघ १८ अथात् फेब्रुअरी २ तारिखदेखि ३८ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिस्पर्धाको लागि आईटिएफले अन्तिम नामावली प्रकाशन गर्ने छ । महिला तर्फ ६४ र पुरुष तर्फ ६४ जनाले सहभागिता जनाउन पाउने छन् । तर प्रतियोगितामा महिला तर्फ ९४ र पुरुष तर्फ १२७ खेलाडीले नाम नोमिनेशन गरेको प्रयोगिताका संयोजक सुर्य भुजेल शुक्रबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । महिला र पुरुष तर्फ छनोट खेलबाट चयन भएका खेलाडीहरुले अन्तिम प्रतिस्पर्धाको लागि कोर्टमा उत्रने पाउने छन् ।
खेलाडी धेरै भएकोले फेब्रुअरी २ र ३ मा क्वालिफाईङ खेलाने बताए । प्रतियोगिता सर्किट १ र २ हुने छ । विजेताले अंक प्राप्त गर्ने छन् । प्राप्त अंककै आधारमा खेलाडीको बरियता निर्धारण हुने छ । पोखरामा यस अघि गत नोभेम्बरमा आईटिएफ जुनियर यु–१४ को सर्किट टुको प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताले पोखराका पर्यटन विकासमा टेवा पुग्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले बताए । उनले खेलाडीहरु १६ दिनसम्म पोखरा बस्दा पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास छ । अघिल्लो वर्ष आईटिएफ यु–१८ जुनियर टेनिस गतवर्ष काठमाडौंमा आयोजना भएको थियो ।
पोखरामा अहिले ५ वटा क्ले कोर्ट छन् । त्यही भएको पुर्वाधारमै यु–१८ टेनिस प्रतियोगिता आयोजना हुने छ । प्रतियोगिताका लागि टुर्नामेन्ट डाईरेक्टर विदेशबाटै आउँने कास्की जिल्ला टेनिस संघका सचिव नविन चालिसेले बताए । १४ दिने प्रतियोगिताको लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संघका कोषाध्यक्ष राजु गुरुङले जानकारी दिए ।