पोखरा, १० माघ /भारतीय भूतपूर्व गोरखा सैनिक इन्टर बटालियन भलिबल प्रतियोगिताको उपाधि फोर्थ फस्र्ट गोरखा राइफल्सले जितेको छ । भारतीय राजदूतावास पेन्सन वितरण क्याम्प रामबजार पोखराको मैदानमा भएको फाइनल खेलमा थर्ड एट गोरखा राइफल्सलाई हराउँदै फोर्थ फस्र्ट गोरखा राइफल्सले उपाधि जितेको हो ।बेष्ट अफ फाइभको आधारमा खेलाइएको फाइनलमा फोर्थ फस्र्ट गोरखा राइफल्सले थर्ड एटमाथि २५–१५, १८–२५, २५–१२, २४–२६ र १५–१२ को जित निकाल्दै उपाधि जितेको हो ।
विजेता फोर्थ फस्र्टले उपाधिसँगै नगद २५ हजार साथमा शिल्ड, ट्रफी र मेडल पुरस्कार हात पा¥यो । रामबजार पेन्सन वितरण क्याम्प प्रमुख कर्णेल प्रतिक शर्मा, मेजर डा. शिवप्रसाद सिंह र एसबीआई बैंक गण्डकी प्रदेश प्रमुख पुजनराज अर्यालले विजेता टोलीलाई नगद, शिल्ड ट्रफी र मेडल पुरस्कार वितरण गरे । एसबीआई बैंक गण्डकी प्रदेश शाखाले प्रथम पुरस्कारको प्रायोजन गरेको थियो । प्रतियोगिताको उपविजेता थर्ड एटले नगद १५ हजार र मेडल हात पा¥यो । रामबजार पेन्सन वितरण क्याम्प प्रमुख कर्णेल प्रतिक शर्मा, मेजर डा. शिवप्रसाद सिंह र एभरेष्ट बैंक गण्डकी प्रदेश शाखा प्रमुख राजु गौलीले उपविजेता टोलीलाई पुरस्कार वितरण गरे । एभरेष्ट बैंक गण्डकी प्रदेश शाखाले द्धितिय पुरस्कारको प्रायोजन गरेको थियो ।
यसअघि, सेमीफाइनलमा फोर्थ फस्र्टले फस्र्ट फोर्थ गोरखा राइफल्समाथि २५–१७ र २५–२० तथा थर्ड एटले ६४ (सिक्स्टी फोर) रेजिमेन्टमाथि २५–१९ र २५–२० को जित निकाल्दै फाइनल पुगेको थियो । सेमीफाइनल चरणसम्म बेष्ट अफ थ्रीका आधारमा खेल खेलाइएको थियो । भारतीय राजदूतावास पेन्सन वितरण क्याम्प रामबजार पोखरा र भारतीय भूतपूर्व गोरखा सैनिक खेलाडी मन्च, पश्चिमाञ्चल पोखराले भलिबल प्रतियोगिताको संयुक्त आयोजना गरेको हो । मन्चका अध्यक्ष क्या.प्रेमप्रसाद गुरुङको संयोजकत्वमा प्रतियोगिता संचालन भएको हो । आइतबारदेखि शुरु प्रतियोगितामा १७ टिमको सहभागिता थियो ।