पोखरा २८ को कार्यालय उद्घाटन

पोखरा, ४ माघ/पोखरा महानगरपालिका वडा नम्बर २८ को कालिकास्थानमा वडा कार्यलय भवनको निर्माण कार्य पूरा भएको छ । साविक शान्ति तथा पुनर्निर्माण मन्त्रालय तथा पोखरा महानगरको समेत गरी करिब १ करोड ५० लाखको लागतमा वडा भवनको निर्माण भएको हो । तत्कालीन कालिका गाविसको भवनमा तला थप गरी सभाहलसहितको वडा भवन बनाइएको हो ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भवनको उद्घाटन गर्दै विजयपुरदेखि कालिका माझठानाहुँदै बेगनासकोसम्मको मोटरबाटो निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए । मेयर जिसीले साविक राखिदेखि मिजुरेसम्मको मोटरबाटो मध्ये महानगरको क्षेत्रमा पर्ने बाटो ६० प्रतिशत महानगर र ४० प्रतिशत संघीय सरकारको लागतमा चाँडो सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

‘करिब १५ वर्ष अगाडि बनेको बाटो पछि मर्मतमा कुनै खर्च गरिएन,’मेयर जिसीले भने, ‘करिब ७० करोडको लागतमा त्यसबाटोलाई छिटो सम्पन्न गरिने छ ।’ मेयर जिसीले तत्कालको लागि बाटोमा नाली काट्ने र ग्राबेलको मात्र काम हुने जानकारी दिए । कालिका जोड्ने ५ वटा कनेक्टिभिटी सडकहरुको समेत स्तरोन्नति गर्ने उल्लेख गर्दै मेयर जिसीले महानगरपालिकाले यातायात गुरुयोजना बनाएर यातायात क्षेत्रलाई व्यवस्थित गर्ने बताए ।

ग्रामीण क्षेत्रका उपभोक्ताले जनसहभागिता जुटाउन नसके ३÷४ वटा योजनालाई एउटै बनाएर पठाए महानगरले टेन्डर गरिदने उल्लेख गर्दै मेयर जिसीले नगरका पुराना भन्दा नयाँ ठाउँलाई अझै व्यवस्थित गर्न सकिने धारणा राखे । वडाको भवनले महानगरको झलक दिएको उल्लेख गर्दै मेयर जिसीले सेवा प्रवाह चुस्त दुरुस्त बनाउन सुझाव दिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले महानगरले अबको विकास निर्माणको काम ग्रामीण वडाहरुमा केन्द्रित गर्ने बताए । जनप्रतिनिधि आएको डेड वर्ष आन्तरिक तयारीमा लागेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले अब काम गरेर देखाउने उल्लेख गरे । महानगर वडा नम्बर २८ का अध्यक्ष निर्मल दियाली सुनारले वडा कार्यालयले कृषि, पर्यटन, खानेपानी शिक्षा र सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए ।

कार्यक्रममा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नारायणप्रसाद बराल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सल्लाहाकार लालमोहन तिवारी, नेपाली कांग्रेसका इकाई सभापति विकास गुरुङ, वडा नम्बर २८ का वडा सदस्य अम्बिका बुढाथोकी, वडा सचिव शोभाकर ढकाल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...