फरक क्षमता भएका महिलाहरुसँग हातेमालो तीज कार्यक्रम

पोखरा, १६ भाद्र/महिलाहरुको महान पर्व तीज नजिकिदै गर्दै विभिन्न समुदायले विभिन्न तरिकाले तीज मान्ने क्रम बढ्दो छ । यसैबीच हातेमालो अभियान पोखराको आयोजना तथा रेडियो नेपालको आधा आकाश कार्यक्रमको सह–आयोजकमा आज पोखरामा छुट्टै खालको तीज कार्यक्रम सम्पन्न गरेको छ ।
अपाङ्गता ‘फरक क्षमता’ भएका महिलाहरु सँग हातेमालो– तीज कार्यक्रममा विभिन्न किसिमले अपाङ्गता भएका महिलाहरुको फरक क्षमता तथा प्रतिभा प्रस्तुत गर्ने र उनीहरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमको आयोजना गरिएको थियो । जसअन्तर्गत ह्विलचियर दौड प्रतियोगिता, नृत्य प्रतियोगिता गरिनुका साथै तीज गीत समेत प्रस्तुत गरेका थिए । ह्विलचियर दौड प्रतियोगितामा अञ्जु बराल प्रथम, पवित्रा विक द्वितीय, जमुना पौडेल तृतीय भएका थिए भने रिना पालिखे, स्वस्तिका रिमाल, चुमाया पुर्जा, मन्जु सापकोटा सान्वता भएका थिए । यसैगरी नृत्यमा भावना केसी प्रथम, रचना गुरुङ द्वितीय र कल्पना गुरुङ तृतीय हुन सफल भए ।
साथै कार्यक्रममा ५० जना अपाङ्गता भएका महिलाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रमको रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक तथा लेडी जेसिसका पूर्व केन्द्रिय अध्यक्ष सुनयना पालिखेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दैै उहाँले विभिन्न किसिमका असक्त तथा अपाङगता भएका महिलाहरुले समान अवसर नपाएको अवस्थामा यस कार्यक्रमले उनीहरुमा हौसला प्रदान गरेको बताउनुभयो ।
हिजोआज विभिन्न बहानामा तडकभडक तरिकाले तीज मनाउने र नेपालीहरुको मौलिक चाडपर्व लोप हुने अवस्थामा पुगेकाले यस कार्यक्रमले छुट्टै महत्व बोकेको बताउनुभयो साथै यस कार्यक्रमबाट सबैले शिक्षा लिनुपर्ने विचार व्यक्त गर्नुभयो । रेडियो नेपाल क्षेत्रीय प्रसारणका प्रमुख दुर्गानाथ रेग्मीले जुनसुकै सामाजिक संस्थासँग रेडियो नेपालले सहकार्य गर्न तयार रहेकोले रेडियोसँग हातेमालो गर्न सामाजिक संस्थालाई आग्रह गर्नुभयो । यसैगरी महिला मानव अधिकार रक्षक सञ्जाल पोखराका अध्यक्ष नन्दकला नेपालीले अपाङगता भएका महिलासँग तीज मनाइरहँदा आफूलाई छुट्टै खालको गर्व लागेको र माइतीको आभाष गराएकोमा खुसी व्यक्त गर्नुभयो । यसैगरी कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक यज्ञप्रसाद अधिकारी, समुदायमा आधारित पुनस्र्थापना सेवा (सिविआरएस) पोखराका प्रमुख कृष्ण लामिछाने, रेडियो गण्डकीका नमुना तामाङ लगायतले मन्तव्य राखेका थिए ।
 

कमेन्टहरु
Loading...