पोखरा, २ पुष /पल टासी छ्योलिङ(गोपाल) गुम्बामा आइतवारदेखि कङ्ग्युर(त्रिपिटक) पाठ वाचन तथा तोनाग घोसुम पुजा शुरु भएको छ । गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा सँस्कृति मन्त्री विकास लम्सालले शान्तिदीप प्रज्वलन गरी कङ्ग्युर(त्रिपिटक) पाठ वाचन तथा पुजाको गरे ।
मन्त्री लम्सालले शुभकामना व्यक्त गर्नुहुदै गुम्बा विकासका लागि सक्दो सहयोग गर्ने बताए । उनले सँस्कृति र मौलिकता संरक्षणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको भन्नुहुदै गुम्बा सम्पदा भएकाले संरक्षण र विकासमा विशेष ध्यान दिने बताए । विश्वशान्तिका लागि बाचन गरिने पुण्य बौद्ध शास्त्र त्रिपिटक र ग्रहशान्तिका लागि तोनाघोसुम पुजाले सभ्य समाज निर्माणमा योगदान पुग्ने दावी गर्नुभयो। बुद्धका उपदेश सबैका लागि मननीय र समृद्ध समाजका लागि अनुकरणीय रहेको बताए ।
कार्यक्रममा भरखरै अन्र्तराष्ट्रिय समाजसेवा पुरस्कारबाट पुरस्कृत, वरिष्ठ समाजसेवी मेजर डिलबहादुर गुरुङले कङ्ग्युर पाठ तथा तोनाघोसुम पुजाको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुहुदै गुम्बा विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो। लामा गुरुहरु र समुदायको तर्फबाट गुम्बा निर्माण गरी विश्वशान्तिका लागि योगदान पुर्याइरहेको भन्नुहुदै अब सरकारले गुम्बा विकासका लागि विशेष ध्यान दिनुपर्ने बताए ।
पल टासी छ्योएलिङ गोपाल गुम्बाका प्रमुख लामा आम्ची गोपाल गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठभाई बाह्र घर प्ल्हनेरों रिह्चमी(चेलीबेटी)हरु लगायत विभिन्न जिल्लाबाट बौद्ध उपासक उपासिकाहरुको बृहत सहभागीता रहेको थियो।
त्रिपिटक पाठ तथा पुजा प्रमुख लामा गोपाल गुरुङको अगुवाईमा गोपाल गुम्बाका लामाहरुसहित संखुवासभा, सुनसरी (इटहरी), सिमरा रुपन्देही (भैरवा), आँबुखैरेनी (तनहुँ) लगायतबाट गरी करिब ७० जना लामाहरुको सहभागीता रहेको छ।
तमुहरुको नयाँ वर्ष ल्होछार फो ल्हो आगमनको अवसरमा १८ औंं पटकको दश दिने त्रिपिटक पाठ तथा पुजामा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठभाई बाह्र घर प्ल्हनेरों रिह्चमी(चेलीबेटी) सहयोगीको रुपमा रहेको छ।
विश्वमा घटिरहेका हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस्, वर्तमान असहज परिस्थिती अन्त्य भई दिगो शान्तिको कामना गर्दै फो ल्हो(मृग वर्ग) आगमनको अवसरमा आइतवारदेखि पुष ८ गतेसम्म दैनिक बिहान ढोल्मा तारादेवीको पुजा र आयु पुजा, कङ्ग्युर पाठ वाचन, दिउसो कङ्ग्युर पाठ वाचन, कुरिम तथा महाकाल पुजा(ग्रहशान्ति पुजा) तथा ङोवा मोनलम(पितृ पुजा) गरिने गुम्बाका प्रमुख लामा आम्ची लामा गोपाल गुरुङले जानकारी दिए ।
पुस ९ गते गुरु रिम्पोछेको पुजा तथा तोनाघोसुम ग्रहशान्ति पुजा, दिउसो परमपुज्य टुल्कु धाम्छ्यो रिन्पोछेलाई स्वागत, लामा नृत्य(छ्याम) तथा तोनागघोसुम ग्रहशान्ति पुजा विर्सजन, पुस १० गते अन्तिम दिन नमो बुद्ध काभ्रेका परमपुज्य गुरु टुल्कु धाम्छ्यो रिन्पोछेबाट छेवाङ(अभिषेक)प्रदान गरिने कार्यक्रम रहको बताए ।