काठमाडौं, २८ मंसिर /अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलका विभिन्न ठाउँमा आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । एन्फाले यसअघि उपाध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा स्तर निर्धारण समिति गठन गरेको थियो ।
समितिले प्रतियोगितालाई व्यवस्थित गर्ने भन्दै मोफसलका २३ प्रतियोगिताका लागि दुई समूहमा वर्गीकरण गर्ने मापदण्ड तयार पारेको छ ।
एन्फाले ‘क’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रंगशाला वा स्तरीय मैदान तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्यारापिटको व्यवस्था हुनपर्ने मापदण्ड तय गरेको छ ।
त्यस्तै प्रतियोगितामा कम्तीमा १० टोली सहभागी गराउनुपर्ने र त्यसमा कम्तीमा ६ ‘ए’ डिभिजन क्लबले खेल्नुपर्नेछ, आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने, टिकट बिक्रीबाट उठेको तीन प्रतिशत रकम एन्फामा बुझाउनु पर्ने र खेल मैदानमा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने लगायतका मापदण्ड बनाएको छ ।
त्यसै गरी ‘बी’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रंगशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने, कम्तीमा आठ टोली सहभागी हुनुपर्ने र त्यसमध्ये कम्तीमा ४ ‘ए’ डिभिजन क्लबले खेल्नुपर्ने लगायत मापदण्ड एन्फाले तोकेको छ । पुस १७ सम्म सञ्चालन हुने सहिद स्मारक ए डिभिजन लिग लगत्तै मोफसलका प्रतियोगिता सञ्चालन हुनेछन् ।
मोफसलमा यस वर्षको पहिलो प्रतियोगिताका रूपमा पुस २१ गते देखि पुस २७ सम्म पाँचथरको फिदिममा ११ औं फाल्गुनन्द गोल्ड कप आयोजना हुनेछ । पुस २१ बाट सुरु हुने मोफसलमा आयोजना हुने प्रतियोगिताको शृंंखलाले वैशाख २१ गतेसम्म चल्ने छ । पोखरामा हुने दुई ठुलो प्रतियोगिता माघमा हुने भएका छन् । एन्फा कास्कीले आयोजना गर्ने अन्तराष्ट्रिय पोखरा कप माघको १५ देखी २६ गते सम्म हुनेछ भने सहारा क्लबले आयोजना गर्ने १७ औ आहा रारा गोल्डकप माघ २६ देखी फागुन ११ गते सम्म सञ्चालन हुनेछ ।
