नेपालका कारण बेलायती प्रधानमन्त्रीको भ्रमण अन्यौल ः गुरुङ

पोखरा, १३ भदौ/यूकेको सत्तारुढ दल लिभर डेमोक्रेटिक पार्टीका केन्द्रिय सदस्य धना गुरुङले बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणको बारेमा नेपाल सरकारले वातावरण बनाउन नसकेको बताएका छन् । नेपाल भ्रमणको लागि बेलायतकै प्रधानमन्त्रीले चासो देखाउँदा पनि सरकारकै समस्याको कारण उनको भ्रमण कहिले हुने भन्ने निश्चित हुन नसकेको उनले बताए । विहिबार पोखराका संचारकर्मीमाझ बोल्दै उनले भने–‘नेपाल र बेलायतको सम्बन्ध विस्तार भएको २ सय वर्ष वितिसक्दा पनि अहिलेसम्म बेलायतका कुनै प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् ।’ बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले एउटा ऐतिहासिक भ्रमण गर्न खोजेको बेलामा नेपाल सरकारले पनि त्यसलाई गम्भिरतापुर्ण रुपले हेर्नुपर्ने उनले बताए ।
concularउनले बेलायती सरकारको भ्रमणका लागि आफुले बेलायती प्रधानमन्त्रीसंग कुरा गरिरहेको सुनाए । उनकै पहलमा बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने समेत उनले स्पष्ट पारे । सन् २०१५ मा बेलायतमा चुनाव हुने भएकोले हालकै प्रधानमन्त्री डेभिड क्यामरुनले त्यो भन्दा अगाडी नै नेपाल भ्रमण गर्ने उनले प्रस्ट्याए । ‘चुनाव पछि डेभिड क्यामरुन नै प्रधानमन्त्री हुन्छन् भन्ने पक्का नहुने भएकोले पनि त्यो भन्दा अगाडी उहाँको नेपाल भ्रमणको सेड्युल बनाउन लागिपरेको छु ।’ उनले भने–‘शायद सन् २०१४ को मध्यसम्ममा बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नेछन् ।’
बेलायती गुर्खा सैनिकहरुको विषयमा बोल्दै गुरुङले बेलायती सरकारसंग उनीहरुको समस्याको समाधानको लागि पहल भैरहेको बताए । ‘व्रिटिश नागरिक सरह नेपालबाट गएका गुर्खाहरुलाई पनि पेन्सनको सुविधाको लागि संसदमा समेत कुरा भैरहेको छ ।’ उनले भने–‘बेलायती प्रधानमन्त्रीले पनि यो कुरामा चासो देखाएका छन्, विस्तारै यो समस्या हल हुँदै जानेछ ।’ पोखराको लाहुरे सँस्कृति र पर्यटनको कुरा जोड्दै उनले यहाँ एउटा गोर्खा स्मारक बनाउन जरुरी रहेको कुरा समेत जोडे ।
त्यस्तै एनआरएनहरुको विषयमा बोल्दै गुरुङले नेपाल सरकारले लगानीको वातावरण बनाउन नसक्दा विदेशमा पैसा कमाएका नेपालीहरु पनि अन्यौलमा परेको बताए । ‘अहिले एनआरएनहरुसंग जति पनि पैसा छ, उनीहरु नेपालमा लगानी गर्न पनि चाहन्छन् ।’ उनले भने–‘तर नेपाल सरकारले लगानीको लागि सुरक्षित वातावरण बनाउन सकेको छैन, यस्तो हालत भएर एनआरएनहरु हच्किएका हुन् ।’
गुरुङले विहिबार नै प्रेस युनियन कास्की शाखाको कोषका लागि ३० हजार १ सय रुपैँया सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । साथै बेलायतमा केहि काम विशेषले जाने कास्कीका प्रेस युनियन शाखाका पदाधिकारी र सदस्यहरुलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले गरे ।

कमेन्टहरु
Loading...