पोखरा, १७ मंसिर/पोखरामा पाँचौ सस्करणका ग्रेटहिमालयन महोत्सवकोे हुदैं छ । ग्रेट हिमालयन महोत्सवकै अवसरमा नेपाल पर्वतारोहण संघले पोखरामा पहिलो पटक ‘एन.एम.ए बैकुण्ठ मानन्धर हिमालयन म्याराथन’ गर्ने भएको छ । डिसेम्बर १० देखि १२ तारिखसम्म पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना हुने महोत्सवमा ४५ किलोमिटर अल्ट्रा रेस गरिने छ ।
‘पोखरामा आफैंमा साहसिक पर्यटनको गन्तव्य हो । त्यसमा हामीले साहसिक पर्यटन प्रवद्र्धनसँगै स्पोर्टस टुरिज्म प्रवद्र्धन गर्न अल्ट्रा रेस आयोजना गर्ने तयारी गरेका हौं ।’ आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्वतरोहण संघका महासचिव कुलबहादुर गुरुङले भने ‘पुरुषहरुको ४५ किलोमिटर र महिलाहरुको त्यसको आधामा प्रतिस्पर्धा गराउने योजना छ । त्यसको लागि केही दिनमै टुंगोमा पुग्छौं ।’
पर्वतीय संग्रहालयबाट शुरु हुने अल्ट्रा रेस निर्मलपोखरी, भरतपोखरी हुदैं संग्रहालयमा आएर टुगिने छ । अल्ट्रा रेस विशेष गरी उकालो ओरालोमा आयोजना हुदैं आएको छ । साहसिक पर्यटनमा निर्मल पोखरी र भरतपोखरीलाई समेत जोड्दै नयाँ अल्ट्रा रेसको रेखांकन गर्ने योजना छ । पोखरामा केही दिन अघि मात्रै पोखरा ट्रेल रेस (रनिङ क्लब)ले यो वर्षको सिरिज पुरा गरिसकेको छ । अब क्लबले सन २०१९ को पहिलो सस्करणको ट्रेल रेस पनि भरतपोखरी, निर्मलपोखरी तथा कृस्तिको ग्रामीण पदयात्रा मार्गमा आयोजना गर्ने उल्लेख गरेको छ ।
४५ किलोमिटरको अल्ट्रा रेस पुरुष विजेतालाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ । उपविजेताले ५० हजार र तेस्रो स्थानमा आउने धावकले भने २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । महिला तर्फको विजेता धाविकालाई भने पुरस्कार राशी उल्लेख गरिएको छैन् । पुरस्कार राशीको प्रायोजन भने नबिल बैंकले गरेको समेत नेपाल पर्वतरोहण संघले जनाएको छ ।
महोत्सवकै अवसरमा संघले एन.एम ए हिमालयन साईक्लिङ रेस समेत आयोजना गर्ने छ । वर्षेनी नेपाल पर्वतारोहण संघ अन्नपुर्ण च्याप्टरले पर्वतीय महोत्सव गर्दै आएको थियो । तर अहिले अन्नपुर्ण च्याप्टरलाई ओझेलमा राख्दै पर्वतारोहण संघ आफैंले अल्ट्रा रेस र साईक्लिङ प्रतियोगिता गर्ने गृहकार्य गरेको छ । साईक्लिङको लागि १ लाख १० हजार पुरस्कार राशी राखिएको छ । एन एम ए टोनी हेगन टुरिज्म पेन्टिङ समेत आयोजना गरिने छ जसलाई पुरस्कार भने ५५ हजार प्रदान गरिने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले जनाए ।
महोत्सवमा गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जनजाति एवं समुदायहरुको साँस्कृतिक नाचहरु समेत प्रदर्शन गरिने छ । खानाका विभिन्न परिकाररुलाई समेत प्रतिस्पर्धा गराई पुरस्कार प्रदान गरिने संघले जनाएको छ । खानाका स्वदिष्ट परिकारलाई १०, ७ र ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने छ । परम्परागत तारो हान्ने खेललाई समेत प्रतिस्पर्धाको रुपमा राखिएको छ । गाँउघरतिर प्रचलित छेलो हान्ने प्रचलनलाई महोत्सवमा प्रतियोगिताकै रुपमा गर्दै प्रवद्र्धन गर्ने संघले जनाएको छ । बोल्डरिङ क्लाम्बिङलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन उद्देश्य सहित प्रतिस्पर्धा गराईने छ ।
नेपाल पर्यटन बोर्डको मुख्य प्रायोजकत्वमा डिसेम्बर ११ मा विश्वप्रसिद्ध हिमाल आरोहीहरुलाई सम्मान गरिने संघका अध्यक्ष लामाले बताए । महोत्सव स्थल अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा विज्ञान, प्रविधि, खानको परिकार, सूचना केन्द्र विभिन्न पर्यटकीय बस्तुहरुको समावेश गर्दै ४० वटा स्टलहरु राखिने छ । स्टल निशुल्क रुपमा उपलब्ध गराईने छ । तीन दिने महोत्सवमा नेपाल पर्वतारोहण संघले ५० हजार आन्तरिक तथा बाह्य पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास लिएको छ ।