सन् २०१८ का लागि विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि‘ओर पर्सी (सोमबार) दिइँदैछ । अवार्ड वितरणको २ दिनअघि टप–३ मा परेका खेलाडीको सूची लिक भएको छ ।
अन्तर्राष्ट्रिय मिडियाले यो खबर छापेका छन् कि, सोमबार दिइने बालोन डि‘ओर अवार्डको सूची लिक भएको छ । जसअनुसार यसपटक बालोन डि‘ओर रियल मड्रिड तथा क्रोएसियाका कप्तानसमेत रहेका लुका मोड्रिकले जित्दैछन् । उनी शीर्ष स्थानमा छन् ।
त्यसपछि दोस्रो नम्बरमा यसअघि पाँचपटक यो अवार्ड जितिसकेका युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनी मोड्रिकभन्दा पछि परेका हुन् ।
त्यस्तै, टप–३ को तेस्रो नम्बरमा एथ्लेटिको मड्रिड तथा फ्रान्सका एन्टोनी ग्रीजम्यान रहेका छन् । उनले रोनाल्डोलाई पछ्याएका छन् ।
सार्वजनिक रिपोर्टअनुसार यसपटक टप–३ मा यसअघि पाँचपटक बालोन डि‘ओर अवार्ड जितेका बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी परेका छैनन् ।
यसपटक यो अवार्डका लागि रोनाल्डो र मोड्रिकलाई प्रमुख दाबेदार मानिएको थियो । जसमा मोड्रिकले रोनाल्डोलाई पछि पार्दै पहिलोपटक सो अवार्ड जित्ने पक्काजस्तै छ ।
यसैबीच, इटालीका मिडियाले रोनाल्डो अवार्ड वितरण समारोहमा भाग लिन फ्रान्सको पेरिस नजाने भएका छन् । समाचारअनुसार रोनाल्डो पेरिस नजाने पक्का भइसकेको छ ।
रोनाल्डो आफूले अवार्ड नजित्ने भएपछि सभामा भाग लिन नजाने भएका हुन् । यसअघि मोड्रिकले नै रोनाल्डोलाई पछि पारेर फिफा वर्ष खेलाडी र युरोपियन वर्ष खेलाडीको अवार्ड जित्दा पनि रोनाल्डो सभामा सहभागी भएका थिएनन् ।
रोनाल्डो सभामा नजाने पक्का भएपछि यो अवार्ड मोड्रिकले जित्ने पक्का भएको हो । यद्यपि, आयोजकले औपचारिक रूपमा टप–३ खेलाडीको सूची भने सार्वजनिक गरिरसकेको छैन ।
यो अवार्ड सन् २००८ यता लगातार रोनाल्डो र मेस्सीले जित्दै आएका थिए । उनीहरूले समान ५–५ पटक यो अवार्ड जितेका छन् । १० वर्षपछि पहिलोपटक यो अवार्ड उनीहरूबाहेकका खेलाडीले पाउने भएका हुन् ।