राष्ट्रमा संकट पर्दा सबै नेपाली एक हुनुपर्छ–पौडेल

पोखरा १२, भाद्र/सुशासन शिवशक्ति धार्मिक समाज नेपालका केन्द्रीय अध्यक्ष ज्योतिषी नीरविक्रम पौडेलले राष्ट्रमा संकट परेको बेला सबै नेपाली एकभएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । केहीदिन अघिमात्र गठन र दर्ता भएको सुशासन शिवशक्ति धार्मिक समाज नेपालले संस्था गठन गर्नुको उद्देश्य एवं भावी रणनीतिका बारेमा जानकारी दिन बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले सो कुरा बताएका हुन् ।
उनले नेपालमा धर्मनिरपेक्षता घोषणासंगै धर्म र राष्ट्रियता संकटमा परेकाले सबै नेपालीहरू एकजुट भएर अघि बढ्न सके नेपाल र नेपालीको पहिचान सनातन हिन्दूराष्ट्र पुनर्वहाली गर्न सकिने बताए । अध्यक्ष पौडेलले धर्ममा विवाद गर्नेको कहिल्यै भलो नहुने भन्दै हिन्दूराष्ट्र पुनर्वहाली र धर्मको नाममा भएको विकृति विसंगति हटाउनुपर्नेमा जोड दिए । उनले भने–‘विकृति र विसंगति हटाउने काम आफ्नो घरबाटै शुरुवात गर्नुपर्छ । आफ्नो घर फोहोर छ भने बाहिरको फोहोर सफा गरेरमात्र हु“दैन ।’
‘वैदिक सनातन हिन्दू धर्ममा आस्था राख्ने समग्र नेपाली नागरिकबीच स्वस्थ धारणा विकसित गर्दै धार्मिक क्षेत्रमा देखिएका विकृति, विसंगति हटाउन संस्था स्थापना भएको हो’ अध्यक्ष पौडेलले भने,–‘मठ मन्दिरमा गरिने पशुवलिको रोकथाम गर्दै हत्या र हिंसारहित समाजको परिकल्पना संस्थाको उद्देश्य रहेको छ र यसै परिकल्पनालाई आधार मानी संस्था अघि बढ्नेछ ।’ जवर्जस्ती हिन्दू धर्मावलम्वीलाई धर्म परिवर्तन गराउने प्रवृतिलाई रोक्न संस्था सक्रिय रहने अध्यक्ष पौडेलको भनाई थियो ।
संस्थाका महासचिव अधिवक्ता डा.बलराम उपाध्याय रेग्मीले नेपालमा गणतन्त्र घोषणा भएपछि हिन्दूधर्ममा विकृति आएको भन्दै चिन्ता व्यक्त गरे । उनले हिन्दू धर्मावलम्वी अब सक्रिय नहुने हो भने नेपाल नै क्रिश्चियनको हुन सक्ने खतरा बढेको औल्याए । डा.रेग्मीले हिन्दूहरूको देशमा दिनदहाडै गौमाताको हत्या र राष्ट्रिय झण्डा समेत परिवर्तनको प्रयास गरिएकाले राष्ट्रिय धर्म जोगाउकै लागि सुशासन शिवशक्ति धार्मिक समाज गठन गरेको स्पष्ट पारे । धर्मको नाममा लागेका असल व्यक्तिलाई संस्थाले समेट्दै अघि बढ्ने डा.रेग्मीको भनाई थियो । उनले भने–‘आम्दानी अत्यन्तै राम्रो भएका तर मन्दिरको भौतिक संरचनामा लगानी नगर्ने व्यक्ति तथा संघ–संस्थाको गतिविधिप्रति निगरानी गर्दै धर्मको माध्यमबाट गरिने आय–आर्जनको लगानी धार्मिक क्षेत्रमा नै लगाउन दवाव दिने संस्थाको उद्देश्य रहेको छ ।’

कमेन्टहरु
Loading...