बजार अनुगमन दैनिक गरिने

पोखरा, १२ भदौ/चाडवाडमा खानपिनलाई विशेष ध्यान दिईन्छ । हरेक सँस्कारमा यो बेलामा खानपिनका लागि अरुबेलाभन्दा बढि जोहो गर्ने चलन पनि छ । बजारमा खाद्य पदार्थको माग पनि यहि बेलामा बढि हुन्छ । यहि बेलामा बजारमा गुणस्तरहित र नापतौल नपुगेका खाद्य पदार्थहरुको विक्रिवितरण पनि बढि हुने गर्छ ।
बजारमा हुन सक्ने यस्तै अनियमितता निवारणका लागि कास्कीमा सावधानी अपनाईने भएको छ । बजार अनुगमन समितिले बजारमा खाद्य पदार्थको वित्रि mवितरणमा हुन सक्ने अनियमिततालाई मध्येनजर गर्दै आफ्नो सक्रियता बढाएको छ । उसले कास्कीको बजारमा दिनहुँ अनुगमन गर्ने बताएको छ ।
‘बजारमा हुन सक्ने अनियमिततालाई मध्येनजर गर्दै चाडवाडको बेलासम्म हामीले दिनहुँ ठाउँ ठाउँमा अनुगमन गर्ने भएका छौँ ।’ खाद्य निरिक्षक शिवजी बरालले भने–‘उपभोक्तामा पर्न सक्ने प्रत्यक्ष असरको बारेमा हामीले यो सावधानी अपनाएका हौँ ।’ बजार मुल्य नियन्त्रण र अखाद्य पदार्थको बिक्रिबितरण रोक्न जिल्ला अनुगमन समितिको लक्ष्य रहेको उनले सुनाए । ‘जुन बेला जहाँ पनि हामीले अनुगमन गर्न सक्छौँ ।’ उनले भने ।
समितिले दैनिक अनुगमनको कार्यलाई मंगलबारदेखि नै शुरु गरेको छ । अनुगमनको शुरुवातमा समितिले पोखरामा रहेका ठुला खाद्य व्यापारिक केन्द्रमा अनुगमन गरेको छ । व्यापारिक केन्द्र चिप्लेढुङ्गामा रहेका मुनाल स्टोर्स, बिनायक स्टोर्स , भागिरथ स्टोर्स र बिनयकुमार स्टोर्समा अनुगमन गरेको समितिले जानकारी दिएको छ । ‘कुनै पनि स्टोर्समा त्रुटि देखिएको छैन ।’ खाद्य समितिले जानकारी दिएको छ–‘भगिरथ स्टोर्समा भने मुल्य सुची प्रष्ट नभएकाले एक दिन भित्र स्पष्ट मुल्य सुची टाँस्न निर्देशन गरेका छौँ ।’

कमेन्टहरु
Loading...