उत्तरकुमारी पालिखेको ८४ बर्ष गाँठको अवसरमा समाजसेवि पुरस्कार स्थापना

पोखरा ११, भदौ/समाजसेवि स्वतन्त्रता सेनानी दयाशंकर पालिखेकि धर्मपत्नि पोखरेली आमा उत्तरकुमारी पालिखेको ८४ बर्ष गाँठको अवसरमा महिला समाजसेवि पुरस्कार स्थापना गर्न लागिएको छ । उहाँका माइला छोरा विश्वशंकर पालिखेले आफ्नी आमाको जन्म दिन कृष्णजन्माष्टमीको दिन वुधवार ८४ बर्ष प्रबेसको अवसरमा समाजमा योगदान पु¥याउने एक जना महिलालाई सम्मान गर्ने उद्धेश्यले उक्त पुरस्कार स्थापना गर्न लागेको बताउनुभयो ।
उक्त पुरस्कार स्थापना गर्न पालिखे परिवारले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाको अक्षयकोष समेत स्थापना गर्ने भएको छ । स्वतन्त्रता सेनानी स्वर्गीय दयाशंकर पालिखेको स्मृतिमा उहाँको परिवारले नेपाल पत्रकार महासंघ कास्की शाखाको संचालनमा दयाशंकर पत्रकारीता पुरस्कार वितरण गर्दै आएको छ । चौरासी बर्ष पुगेको अवसरमा विधिपुर्वक उहाँकोे परिवारले गणेशगुठि सेवा समिति गणेश टोलमा बुधबार चौरासी पूजा गर्ने भएको छ ।
नेपाल सरकारले भोजभतेरमा फजुल खर्च नगर्न गरेको आव्हानलाई मनन् गरी आफ्नो परिवारजनसंग मात्र आफ्नी आमाको चौरासी पूजा गर्ने उहाँको पारिवारीक श्रोतले जनाएको छ । बुबा चक्रमान प्रधानाङग्, आमा छलिमाया प्रधानाङगको कोखबाट १९८७ सालमा जन्मनु भएकी उत्तरकुमारीका ३ छोरा हुनुहुन्छ ।
पालिखे परिवारले यसअघि गणेशमान शिक्षा सेवी पुरस्कारको समेत घोषणा गरेको थियो । उत्तरकुमारीका विनोदशंकर पालिखे जेष्ठ छोरा हुनुहुन्छ भने रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे माहिला र विकास शंकर पालिखे कान्छो छोरा हुनुहुन्छ । दयाशंकरका जेठी श्रीमती तर्फका जेठा छोरा शिक्षासेवि गणेशमान पालिखेको द्धन्दकालमा माओवादीद्धारा हत्या भएको थियो ।

कमेन्टहरु
Loading...