कास्कीको माझठानामा संघीयता सम्बन्धि गोष्ठी

भाद्र ११, पोखरा /नेपाल राष्ट्रिय प्रगतिशील बुद्धिजीवी संगठन कास्कीको आयोजनामा संघीयता, संविधानका अन्तरवस्तु र संविधान सभा निर्वाचन प्रक्रिया सम्बन्धि एक दिवसीय प्रशिक्षणात्मक गोष्ठी मंगलबार माझठानाको सौरेमा सम्पन्न भएको छ ।  कार्यक्रममा एकीकृत नेकपा (माओवादी) का राज्य समिति सदस्य मनहरि तिमिल्सिनाले पहिचान सहितको संघीयता, संघीयता सम्बन्धि माओवादी धारणा र संविधानका अन्तरवस्तुबारे लिखित अवधारणा पेश गर्नुभएको थियो ।
तिमिल्सिनाले तमुवान प्रदेश तमु जातिको मात्र प्रदेश नभएर यस क्षेत्रमा बस्ने सम्पूर्ण समुदायको साझा प्रदेश भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘तमुवान तमु जातिको मात्र प्रदेश होइन, साझा भाषा, साझा भूगोल, साझा अर्थतन्त्र र साझा मनोवैज्ञानिक बनोटको लामो अन्तरघुलनका क्रममा पैदा भएको राष्ट्रियता हो, त्यसैले यो सबै जातिहरुको साझा राज्य हो ।’ कम्युनिष्टहरुले वर्गीय उत्पीडनको मात्र विरोध नगरेर समाजमा हुने सबै उत्पीडनको विरोध गर्ने भन्दै तिमिल्सिनाले भन्नुभयो –‘कम्युनिष्टहरु उत्पीडनका विरोधी हुन्, चाहे त्यो वर्गीय उत्पीडन होस् वा जातीय वा अन्य उत्पीडन । उत्पीडनको अन्त्य, समतामूलक समाज र समृद्धि नै कम्युनिष्ट आन्दोलनको मूल ध्येय हो ।’
अर्को प्रसङ्गमा तिमिल्सिनाले राजनीतिक स्थीरता, संघीय प्रदेशहरुको सन्तुलन र समन्वय, अराजकताको अन्त्य र आर्थिक समृद्धिका लागि कार्यकारी राष्ट्रपति आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘हामी संघीयतामा जाँदैछौं, राजनीतिक स्थीरता, समृद्धि, अराजकताको नियन्त्रण र संघीय प्रदेशहरुको सन्तुलनका लागि जननिर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक छ ।’ कार्यक्रममा प्रमुख अतिथि एकीकृत माओवादी राज्य समिति सदस्य तथा कास्की कार्यालयका सचिव लालमोहन तिवारीले पहिचानका पक्षधरहरुको साझा मोर्चा बनाएर मात्र नयाँ राष्ट्र निर्माण हुनसक्ने बताउनुभयो ।

कमेन्टहरु
Loading...