कच्चा कफीको नयाँ मूल्य निर्धारण

पोखरा, ३० कात्तिक/ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेदेखि लागु हुने गरि कच्चा कफीको मूल्य निर्धारण गरेको छ । जसअनुसार फ्रेस चेरी कफी ग्रेड ए प्रतिकेजी ८५ रुपैयाँ, ग्रेड बि प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ । यस्तै, पार्चमेन्ट कफी ग्रेड ए प्रतिकेजी ४ सय २५ रुपैयाँ, ग्रेड बि ४ सय १० रुपैयाँ तोकिएको छ ।

ड्राई चेरी कफीको मूल्य ग्रेड ए प्रतिकेजी १ सय ४०, ग्रेड बि प्रतिकेजी १ सय, ग्रेड सि प्रतिकेजी ४० रुपैयाँ तोकिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए ।

उनले नेपालमा उत्पादित अर्गानिक कफि दक्षिण कोरिया, जर्मन, अमेरिका र क्यानडा लगाएतका देशमा निर्यात हुने गरेको बताए । उनले कोरियामा गुल्मी र सिन्धुपाल्चोकको जर्मनमा, ललितपुरको अमेरिका र क्यानडामा जाने गरेको बताए ।

करिब ४ दशक अघि पश्चिमी पहाडी जिल्ला गुल्मीबाट व्यवसायिक रुपमा उत्पादन सूरु गरिएको थियो । गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जालाई नेपाल सरकारले कफीको सुपर जोन घोषणा गरेको छ ।

नेपालमा अघिल्लो वर्ष ५ सय १३ मेट्रिक टन कफी उत्पादन भएको छ । नेपालको कुल २६ सय ५० हेक्टर जमिनमा कफि लगाइए पनि कफिमा आत्मनिर्भर हुन नसकेको उनले बताए ।

उहाँले नेपालमा ११ लाख ९८ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफि खेती गर्न सकिने भए पनि ६१ हजार २ सय १८ हेक्टर क्षेत्रफल कफिका लागी अति उत्तम रहेको बताए । नेपालका ठुला व्यवसायी र लगानीकर्ताको आँखा कफि खेतीतर्फ गए मात्रै कफिको उत्पादन बढ्ने उनको भनाई छ ।

चालु अर्थिक वर्ष २०७४ र ७५ मा १ सय ६३ मेट्रिक टन कफिको निर्यात भएको छ भने ८४ मेट्रिक टन कफिको आयात भएको छ । गत वर्ष ७३ र ७४ मा ९९ मेट्रिक टन कफिको निर्यात भएको छ भने ९४ मेट्रिक टन कफिको आयात भएको कार्यकारी निर्देशक गौतमले बताए ।

देशमा कफि कृषकहरु ३२ हजार भए पनि व्यवसायीक रुपमा खेती गर्नेको संख्या थोरै रहेको छ । बोर्डले मङसिर १ लाई राष्ट्रिय कफि दिवसको रुपमा मनाउँदै आएको छ भने शनिबार देशभरका कफि कृषकहरु पोखरामा १४ औं कफि दिवस मनाउ सहभागी हुदै छन् ।

कमेन्टहरु
Loading...