पोखरा, २९ कात्तिक / मन्त्रिपरिषद द्वारा कात्तिक २५ गतेको निर्णय अनुसार राष्ट्रिय खेलकुद परिषदको रिक्त सदस्य पदमा आगामी चार वर्षका लागि बोर्ड सदस्य पदमा नियूक्त भएका पोखराका राजेश गुरुङलाई बिहीबार पोखरामास्वागत गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद बिकास समितिले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा कास्की जिल्लाका विभिन्न खेलकुद संघहरुले उनलाई स्वागत गरेका हुन ।
सो कार्यक्रममा बोल्दै नवनियुक्त परिषद बोर्ड सदस्य गुरुङले चौर्तफी रुपमा लथालिङ्ग भएको खेलकुदलाई सबैको सहकार्यमा माथी उठाउनु पर्ने बताएका छन । उनले सो अबसरमा भने–“म मा खेलकुदको स्पिरिट छ, खेलकुद बिकासका लागि जस्तो सुकै काम गर्न पनि पछि हट्नै छैन ।”
उनले पोखरा रंगशालाको पूर्वाधार बिकासका लागि हिजोनै काठमाण्डौमा धेरै कुरा आगाडी बढिसकेको जानकारी गराउँदै आफ्नो कार्यकालमा रंगशालाको मुहार फेर्न आफ्नो भूमिका रहने बताए ।
नवनियुक्त बोर्ड सदस्य गुरुङले अहिले पनि खेलाडीको अवस्था निकै नै नाजुक रहेको भन्दै खेलाडीलाई राज्यले दिने भन्दा पनि लुट्ने काम मात्रै भएको भन्दै आक्रोश पोखे ।
खेलकुद संघहरुमा नेतृत्वका लागि मात्रै हानथाप भएको र खेल बिकासका लागि बैचारिक नेतृत्व नहुँदा समस्या आएको बताउँदै उनले भने– “मलाई चिल्लो घस्न आउँदैन खेल र खेलाडीको अवस्था खस्किएको अवस्था छ, त्यो अवस्था सुर्धान र खेलाडीको क्षमता बढाउन के गर्ने भन्ने बारे सुझाब संकलन गर्नेछु ।” उनले आफू खेल क्षेत्र बाट आएको हुनाले जहिले पनि खेलाडीको पक्षमा बोल्ने बताए ।
सो अबसरमा सदस्य गुरुङले विगतमा आफूलाई खेल क्षेत्रमा प्रवेश गराउन भूमिका खेल्ने स्व. अर्जुन गुरुङ, प्रशिक्षक विद्या मर्सानी, मुछेत्र गुरुङ लगाएतलाई सम्झिएका थिए । उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पोखरामा पहिले भने जस्तै गरि ७ वटा प्रतियोगिताहरु आयोजना गराएरै छाड्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका
अध्यक्ष सम्पन्न श्रेष्ठले अन्य प्रदेश र क्षेत्रको तुलनामा गण्डकी प्रदेशमा खेलकुदको पूर्वाधार बिकास भइरहेको बताए । उनले भने–“पोखरामा कुनै पनि दक्षिण एशियाली स्तरको प्रतियोगिता आयोजना गर्न सकिने पूर्वाधार तयार हुँदैछन तर हाम्रो प्रमुख समस्या खेलाडी उत्पादन हो ।”
स्वागत कार्यक्रममा कास्की जिल्ला खेलकुद बिकास समिति अध्यक्ष याम गुरुङले फुटबल प्यारापिट भत्काएर परिषदले निर्माण सुरु नगरेकोमा चिन्ता व्यक्त गर्दै भने–“अहिले केन्द्रले बजेट केन्द्रमा थन्काएर बन्दै गरेका पूर्वाधार समेत अपूर्ण छन ।” पोखरामा खेलकुदको अवस्थालाई सुर्धान खेलकुद संघ र प्रशिक्षकहरुको ठूलो जिम्मेवारी रहेको भन्दै उनले साग खेलकुदमा समेत पोखरामा आयोजन गर्ने भनिएका खेलकुद राजधानीमा नै सिमित गर्ने खिचातानी शुरु भएको प्रति आक्रोश समेत पोखे ।
राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त बोर्ड सदस्य गुरुङ दोश्रो पटक बोर्ड सदस्यमा नियुक्त भएका हुन । परिषदमा यस अघि चार वर्षको सफल कार्यकाल पुरा गरेका गुरुङ बक्सिङ खेलबाट आफूलाई खेलकुदमा स्थापित गराएका थिए । उनी पोखरामा सफल ब्यबसायीका रुपमा परिचित छन ।