सामाजिक सचेतनाका कारण महिलाहिंसाका घटना जागर

पोखरा । भदौ १० /महिला अधिकारका सम्बन्धमा समाजमा पु¥याइएको सचेतनाका कारण महिलाहिंसाका घटना बृद्धि भएको नभई उजागर भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा युएसआईपीको सहयोगमा भदौ १० गते भरतपोखरी गाविसमा भएको महिला हिंसा र सामाजिक सुरक्षा विषयक छलफल कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् । उनीहरुले सामाजिक प्रतिष्ठा, इज्जत, असुरक्षा र आर्थिक विपन्नताका कारण विगतमा हुने गरेका घरेलुहिंसाका घटना बाहिर नल्याउँने गरेको भएपनि पछिल्लो समयमा महिला अधिकारका सवालमा पुगेको सचेतनाका कारण हिंसाका घटना उजागर भएको बताए ।
कार्यक्रममा बोल्दै भरतपोखरी गाविसका सचिव गंगादत्त पौडेलले सामाजिक सचेतनाका कारण महिलाहिंसाका घटना उजागर भएको र सञ्चारमाध्यमबाट निरन्तर सार्वजनिक भएको बताउदै महिला हिंसा न्यूनीकरणको लागि सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने बताए । नेपाली काँग्रेसका गाउँ इकाई सभापति चन्द्रबहादुर पुनले महिला र पुरुषमाथि हुने हिंसाका घटनालाई सम्बोधन गर्न सबैले समन्वय र सहकार्य गर्नु पर्ने बताए ।
नेकपा एमाले गाउँ कमिटी अध्यक्ष टुकराज भण्डारीले गाविसमा हुने हिंसात्मक घटनालाई राजनीतिक दलले हस्तक्षेप गर्न नहुने भन्दै सामाजिक सुरक्षा जस्ता साझा सवालमा दलहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । दलित मुक्ति मोर्चा तथा एमाओवादीका प्रतिनिधि प्रेमबहादुर सुनारले व्यक्तिगत रुपमा जातीय विभेदका घटना भए पनि सार्वजनिक रुपमा त्यस्ता घटना नभएको बताए । पारागमनकी अध्यक्ष शान्ति पाध्याले समाजमा महिलाहिंसा, जुवातास, मादकपदार्थ सेवनका घटना धेरै भएकाले बताउँदै सरोकारवाला निकायले यसतर्फ विशेष सुरक्षानीति अपनाउँनु पर्नेमा जोड दिइन् ।
इन्सेक पोखराका टंक खनालले युएसआईपीको सहयोगमा इन्सेकले तीन वर्षदेखि गाविसमा महिला हिंसा र सुरक्षाका सवालमा कार्यक्रम सञ्चालन गर्दै आएको र नागरिक प्रहरीवीचको समन्वय र सहकार्यबाट नै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने बताए । कार्यक्रममा राप्रपाका अध्यक्ष सोमबहादुर गुरुङ, स्थानीय कमला परियार, विष्णु पौडेल, मानवअधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष प्रमिला तझ्या, जुना केसी लगायतले महिलामाथि विभिन्न किसिमको जघन्यहिंसा हुने गरेकोले त्यसको न्यूनीकरणका लागि सरोकारवालाले पहल गर्नु पर्नेमा जोड दिए ।
यसैवीच कार्यक्रममा महिलाहिंसा न्यूनीकरण तथा सचेतनाको लागि नौ ओटै वडाबाट प्रतिनिधित्व हुने गरी गाविसस्तरीय महिलाअभियानकर्ता गठन गरिएको छ । जसमा अम्बिका पौडेल, सीता गिरी, कमला परियार, जमुना पौडेल, तुलसी दुरा, विष्णु भट्टराई, राधिका आचार्य, चित्रकला आचार्य र तुलसी आचार्य प्रतिनिधि रहेका छन् । उनीहरुले समुदायमा भएका महिलाहिंसाका घटनाको अभिलेख गर्दै न्यायका लागि आवश्यक पहल गर्नेछन् ।

कमेन्टहरु
Loading...