पोखरा, १५ कात्तिक / कास्कीको अन्नपूर्ण गाउँपालिका–७, तोल्कामा सक्रिय रहेको देउराली युवा क्लबले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औं बार्षिकोत्सब मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा क्लबले बिभिन्न ब्यक्तित्वलाई सम्मान र साबिक वडा स्तरिय भलिबल प्रतियोगिता तथा विविध खेलकुदका कार्यक्रमहरुको आयोजना गरी मनाएको हो । कार्यक्रमका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले वार्षिकोत्सवको उद्घाटन गरे
। कँुवरले खेलकुदमा जस्तै निष्पक्षता र पारदर्शिता जनप्रतिनिधिहरुमा हुनुपर्नेमा जोड दिए । कुँवरले चुनावका बेला प्रतिबद्धता जाहेर गरेकाहरुले बाचा कबोलहरुलाई आफूले पूरा गरेरै छाड्ने बताए । अन्नपूर्ण गाउँपालिका वडा नं ७ अन्तरगत पर्ने तोल्का, आलुखोर, भिचुक र लान्द्रुकका वासिन्दाहरुले एक भएर सामाजिक विकासका लागि अगाडि बढ्न कुँवरले आग्रह गरे ।
समाजको विकास निर्माणका लागि राजनीति गर्न नहुने कुँवरको धारणा थियो । ‘राजनीतिले सामाजिक विकास निर्माणका कुराहरुलाई भताभुङ्ग बनाएको छ,’ उनले भने, ‘एकापसका सम्बन्धहरुलाई टुटाएको छ । यस्तो राजनीतिले कोही कसैलाई फाइदा पुग्दैन ।’
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष घनश्याम च्वाँईले सामाजिक कार्यमा अग्रसर स्थानीय देउराली युवा क्लबलाई सबैको साथ र संरक्षण औंल्याए । कास्की जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख प्रकाश बरालले कास्कीको अन्नपूर्ण क्षेत्र खेलका लागि उर्बरभूमी रहेको चर्चा गरे ।
केन्द्रीय भलिबल संघका सचिव डीबी नेपालीले भलिबल खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि स्थानीय क्लबहरुले प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जिल्ला भलिबल संघले निकट भविष्यमै कास्कीका स्थानीय स्तरको भलिबल प्रतियोगिता गर्ने जनाए ।
कार्यक्रममा स्थानीय समाजसेवीहरु
प्रेमबहादुर गुरुङ, झकबहादुर थापामगर, केशबबहादुर दुरा, वडा महिला सदस्य चिजाकुमारी बिश्वकर्मा, लुम्ले होटल व्यवसायी समितिकाका अध्यक्ष मोतिबहादुर गुरुङ, हिमालय मावि व्यवस्थापन समिति अध्यक्ष दुर्गाबहादुर क्षेत्री, क्लबका सल्लाहकार कुमार गुरुङ र तुप्चे बराह युवा क्लब, लान्द्रुकका अध्यक्ष राजु गुरुङलगायतले बोलेका थिए ।
कार्यक्रममा पत्रकार राजबहादुर गुरुङ र स्थानीय म्याराथन धावक सन्दीप बिश्वकर्मा सम्मानित भए । त्यस्तै क्लबका सल्लाहकार ईच्छाबहादुर गुरुङ, जीवन आलेमगर, कुमार गुरुङलगायतलाई क्लबका अध्यक्ष बिकास गुरुङ, प्रमुख अतिथि कुँवर र अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष घनश्याम च्वाँईलगायतले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका थिए ।
क्लबका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सल्लाहकार ईच्छाबहादुर गुरुङले स्वागत र कार्यक्रम संयोजक भरत गुरुङले कार्यक्रम संचालन गरेका थिए ।